बुटवल । बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा रुपन्देही तिलोत्तमाका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं. ८ का ६० वर्षीय पुरुषको शुक्रबार बिहान साढे दुई बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
स्वास्थ्यमा समस्या आएपछि भदौ ७ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका उनको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । चिकित्सकका अनुसार, उनमा उच्च रक्तचापको समस्या थियो ।
कोरोना विशेष अस्पतालको आईसीयू खाली नहुँदा उनलाई फिवर क्लिनिकमा अक्सिजन लगाएर एक दिन राखिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ती पुरुषको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।
मृतकको परिवारका सदस्यको समेतत पीसीआर परीक्षणका लागि स्वाव संकलन सुरु गरिएको उनले बताए ।
योसँगै बुटवलको कोरोना अस्थायी अस्पतालमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । रुपन्देहीका चार, कपिलवस्तुका तीन र प्युठानका एक जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।