काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण नेपालमा पनि बढ्दै गइरहेको छ । नेपालमा पछिल्ला केही दिनदेखि मृतकको संख्या समेत बढ्दै गइरहेको छ ।
यसैबीच, सरकारले लक्षण नभएका तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई कोरोना परीक्षण नगरी १४ दिनमा घर पठाउन निर्देशन दिएको छ ।
संक्रमित भएर अस्पताल भर्ना भएको १० दिनमा गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आए पनि १४ दिनमा परीक्षण नगरी घर पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोभिड–१९ को बिरामी व्यवस्थापनको सम्बन्धमा सम्पूर्ण कोभिड अस्पतालहरु र सामाजिक विकास मन्त्रालयलाई पत्राचार गर्दै सो जानकारी दिएको हो ।
साउन २९ गतेको पत्रअनुसार १० दिनमा कोरोना पोजेटिभ आएको भए पनि १४ दिनमा भने पीसीआर परीक्षण नगरिकनै घर पठाउनुपर्ने मन्त्रालयको निर्देशनमा भनिएको छ ।
आपतकालीन केन्द्रले १४ दिनभन्दा बढी राखेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोधभर्ना नगर्ने भनी पत्राचार गरेको छ ।