वीरगञ्ज । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र बाराकै विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुष रहेका छन् ।
दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए ।
थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या आएपछि भदौ २ गते उपचारका लागि वीरगञ्ज ल्याइएको थियो । स्वाब परीक्षण्का क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण देखिएपछि उनलाई वीरगञ्ज हेल्थ केयरको आइसोलेसनमा राखिएको थियो ।
विश्रामपुरका पुरुषमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृगौला सम्बन्धी रोगबाट ग्रसित उनमा स्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उपचारका लागि वीरगञ्ज हेल्थ केयर ल्याइएको थियो ।