विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घन्टामा १०९ जनामा कोरोना पुष्टि भएको छ । जसमा २९ महिला छन् भने ८० पुरुष छन् ।
मोरङ र सुनसरीमा ४८–४८, झापामा आठ, खोटाङमा एक र प्रदेश बाहिरका चारजना रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मंगलबारको तथ्यांकअनुसार विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा दुई महिला ६ पुरुष, ग्रामथानमा एक महिला पाँच पुरुष, बेलबारीमा एक महिला दुई पुरुष, बुढीगंगामा दुई पुरुष, रंगेलीमा एक पुरुष, जहदामा एक महिला र स्थानीय तह नखुलेकी एक महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार जिल्लाबाहिर सुनसरीको दुहवीमा दुई महिला १४ पुरुष, इटहरीमा चार महिला चार पुरुष, भोक्राहानरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा पाँच पुरुष, बराहक्षेत्रमा तीन पुरुष, इनरुवामा एक महिला दुई पुरुष, धरानमा तीन महिला, बराहक्षेत्रमा तीन पुरुष, गढीमा एक पुरुष र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, झापाको भद्रपुरमा एक महिला तीन पुरुष, कमलगाउँपालिकामा एक महिला एक पुरुष, दमक र गौरीगञ्जमा एकएक पुरुष, खोटाङको दिक्तेलामा एक पुरुष र प्रदेश बाहिरका एक महिला र तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसप्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८३२ पुगेको छ भने आज ४९ जना निको भएर घर फर्केका छन् । हालसम्ममा यस प्रदेशमा निको भएर घरफर्कनेको सङ्ख्या एक हजार ३३२ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा दुई हजार ३९ जनाको पीसीआर परीक्षण भएको छ भने हालसम्ममा कुल ८० हजार ७४५ जनाको पिसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।