असोज ०५, २०८१, शनिबार
               

कार्यक्षेत्र बेनीमा पोष्टिङका लागि गएका प्रहरीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

कास्की । तालिम सकेर बेनी कार्य क्षेत्रमा पोष्टिङ भएर गएका एक प्रहरी जवानमा कोरोना  संक्रमण पुष्टि भएको छ । भदौ १ गते म्याग्दीको बेनी आएर क्वारेन्टाइनमा बसेका २० वर्षीय प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

संक्रमण पुष्टि भएपछि ती जवानलाई अहिले बेनीको खुल्लामञ्चनजिकै रहेको आइसोलेसनकक्षमा राखेर उपचार सुरु गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए । उनका अनुसार संक्रमण पुष्टि भएका प्रहरी जवानको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गएको साउन ३१ गतेदेखि कोरोनाको सक्रिय बिरामी नभएको म्याग्दीमा सोमबार पुन: संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको समेत काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयमा नयाँ आएका ७ जनाको समूहलाई छुट्टै राखिएकोमा एक जनामा संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए ।

पछिल्लो थप एक जनामा संक्रमण पुष्टि भएसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हालसम्म म्याग्दी जिल्लाबाट ११ सय ३४ वटा नमुना सङ्कलन गरी पिसिआर जाँच गर्न पठाइएकोमा ११ सय ९ वटा नमुनाको नतिजा आएको छ ।

त्यसमध्ये १ हजार ४८ नमुनाको रिपोर्ट नेगेटिभ, संक्रमित बिरामीको दोस्रो, तेस्रो नमुनासहित ६० वटा नमुनाको रिपोर्ट पोजिटिभ आएकोमा १ वटाको इन्भ्यालिड र २५ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताए । 

यसअघि म्याग्दीबाट ४३ पुरुष र ५ महिला संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि