बैशाख २७, २०८१, बिहीबार
               

एकैदिन अस्पतालका ३५ जनामा संक्रमण देखिएपछि...

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काभ्रे । बनेपा नगरपालिका­–१३ मा वडा कार्यालयले सर्वसाधारणलाई आवत-जावतमा रोक लगाएको छ । 

बनेपा नगरपालिका­–१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको हो । 

स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र अर्को सूचना नभएसम्मको लागि आवतजावतमा रोक लगाएको वडा नं. १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिए । 

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार शनिबार एकैदिन जिल्लामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

उनका अनुसार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको सम्बन्धित अस्पतालमा नै उपचार भइरहेको डा. झाले बताए । 

एकैदिन यति धेरै संख्यामा संक्रमण देखिएको जिल्लामा यो पहिलो पटक हो । 

योसँगै काभ्रेपलाञ्चोक जिल्लामा कोरोना संक्रमितको संख्या १३९ पुगेको छ । जसमध्ये ४३ जना निको भएर घर फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि