जेठ ०६, २०८१, आइतबार
               

सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजी अस्पतालका बिरामी जाँच्न नपाउने

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, अस्पतालका बिरामी जाँच गर्न रोक लगाइएको छ । 

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै  सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ती स्वास्थ्यकर्मीलाई बाहिरका क्लिनिक वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच गर्न रोक लगाइएको हो ।

हाल सो अस्पतालको आकस्मिककक्षमा कार्यरत सात अहेव सङ्क्रमित भई  आइसोलेसनमा बसेका  छन् भने शङ्कास्पद तीन चिकित्सकसहित २७ स्वास्थ्यकर्मी र कर्मचारी होम क्वारेन्टिनमा बसेका छन् । 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी  आइसोलेसन र होम क्वारेन्टिनमा बसेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बाहिरका क्लिनिक, निजी अस्पतालमा बिरामी जाँच्न रोक लगाउने निर्णय  भएको बताइएको छ ।

स्वास्थ्यकर्मीको अभावका कारण शुक्रबार अस्पतालको आकस्मिक सेवा, सर्जरी र ओपिडी सेवा बन्द गर्नुका साथै अन्य सेवासमेत प्रभावित भएको थियो ।

आकस्मिक सेवालाई सञ्चालन राख्न र कोरोनाको सङ्क्रमण एक ठाउँबाट अर्को ठाउँमा नफैलियोस् भनेर विशेष सजगता अपनाउँदै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।

राजविराजस्थित छिन्नमस्ता अस्पताल (निजी) को शल्यक्रिया कक्षमा कार्यरत शल्यक्रिया सहायकमा समेत शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सो अस्पतालसमेत बन्द गरिएको छ ।

छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सकसहित ७० स्वास्थ्यकर्मी, कर्मचारीलाई पनि होमक्वारेटिन गरिएको अस्पतालका प्रशासन प्रमुख राजेश झाले बताउनुभयो । केही चिकित्सक र स्वास्थ्यकर्मी दुवै अस्पतालमा कार्यरत छन् ।

छिन्नमस्ता अस्पतालमा सङ्क्रमितको सम्पर्कमा आएका कारण होमक्वारेटिनमा बस्नुपरेका केही चिकित्सक र स्वास्थ्यकर्मी गजेन्द्रनारायण सिंह अस्पतालमा समेत कार्यरत रहेकाले थप स्वास्थ्यकर्मी अभाव भएको अस्पताल प्रशासनले जनाएको छ ।

यो पनि