मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमित परिवारको कम्तीमा दुई जनाको परीक्षण

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले यहाँका ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए ।

‘कोरोना पोजेटिभ भएर होम क्वारेन्टाइनमा बसेका संक्रमितका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएका छौँ’, उनले भने, ‘सोहीअनुसार जनस्वास्थ्य कार्यालयले स्वाब संकलन सुरु गरिसकेका छन् ।’ शुक्रबार साँझसम्म सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी ४० हजार ५३७ को पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको निर्देशनालयले जनाएको छ ।

जसमध्ये चार हजार ७६० जना कोरोना पोजेटिभ देखिएका छन् । ‘यहाँ अहिलेसम्म समुदायस्तरसम्म कोरोना फैलिसकेको छैन, निर्देशक डा. अवस्थीले भने, ‘संक्रमित अधिकांश बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।’ संक्रमित देखिएकामध्ये ७० प्रतिशत बिरामी निको भएर घर फर्किसकेको अवस्था रहेको छ ।

हालसम्म सुदूरपश्चिममा तीन हजार ९३८ जना सङ्क्रमित कोरोना जितेर घर फर्किसकेको निर्देशनालयले जनाएको छ भने कोरोना सङ्क्रमणबाट कैलालीमा चार, बझाङ र बाजुरामा दुई–दुई र अछाममा एक गरी नौ जनाको मृत्यु भइसकेको छ । निर्देशक डा. अवस्थीले समुदायमा पनि कोरोना परीक्षण गर्न निर्देशन दिएबमोजिम डोटी जिल्लामा समुदायका ४५० जनाको कोरोना परीक्षण भइसकेको बताए ।

‘डोटीका बढी सङ्क्रमित स्थानीय तहमा समुदायका ४५० जनाको कोरोना परीक्षण गर्दा सबैको नेगेटिभ रिपोर्ट आएको छ’, उनले भने, ‘अन्य जिल्लामा पनि संक्रमित व्यक्तिका घरका अन्य सदस्यको पनि परीक्षणको काम चलिरहेको छ ।’ सुदूरपश्चिम प्रदेशमा हाल कैलालीको धनगढी, डडेल्धुरामा पिसिआर विधिबाट कोरोना परीक्षणको काम भइरहेको छ भने बैतडी जिल्लामा पनि परीक्षणको दायरा बढाउन प्रदेश सरकारले पिसिआर पुर्याएको छ ।

जिल्ला अस्पताल बैतडीले भने आगामी भदौ दोस्रो साताबाट परीक्षण सुरु गर्ने गरी मेशिन जडानको काम सुरु हुने जनाएको छ । त्यसैगरी कोभिड–१९ डडेल्धुराका सम्र्पक व्यक्ति हरिप्रसाद भट्टले  पालिकासित समन्वय गरेर समुदायस्तरमा परीक्षण गर्ने तयारी भइरहेको बताए । ‘यहाँको प्रयोगशालाबाट अन्य पहाडी जिल्लाको समेत कोरोना परीक्षण भइरहेको छ’, उनले भने, ‘यहाँ दैनिक औसतमा १५० जनाको कोरोना परीक्षण हुँदैछ ।’

त्यस्तै कञ्चनपुरस्थित कोभिड– १९ का सम्र्पक व्यक्ति सिद्धराज भट्टले यहाँ परीक्षणका लागि संकलन गरिएका मध्ये ५०० को रिपोर्ट आउँनै बाँकी रहेको बताए । ‘समुदायस्तरमा पनि सम्भावित लक्षण देखिए र सङ्क्रमितको सम्र्पकमा आएकालाई प्राथमिकतामा राखेर परीक्षण गर्ने भन्ने निर्देशन छ’, उनले भने, ‘रिपोर्ट ढिलो आउँदा समस्या भइरहेको छ ।’ भारतबाट आएर कञ्चनपुरका क्वारेन्टिनमा बसिरहेका २०२ जनाको स्वाब संकलन बाँकी रहेको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि