काठमाडौं । नेपालका चार जिल्ला कोरोनामुक्त भएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सोलुखुम्बु, भोजपुर, तह्रथुम र हुम्ला कोरोनामुक्त भएका हुन् ।
काठमाडाैंबाट सुरु भएको कोरोना भाइरस ७७ वटै जिल्लामा फैलिएको थियो ।
मन्त्रालयको नियमित ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् । नेपालको सबैभन्दा पछि रसुवामा कोरोना देखिएको थियो भने सबैभन्दा पहिले कोरोना देखिने जिल्ला काठमाडाैं हो । विश्वमा कोरोना भाइरस चीनकाे वुहानबाट सुरुवात भएको थियो ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २०४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २०४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या १६ हजार १६८ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ७ हजार ४९९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ६ हजार १३३ नमुनाको पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएकाे छ ।