मंसिर ०७, २०८१, शुक्रबार
               

कर्णालीका ८० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ संक्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल संक्रमितमध्ये ८० प्रतिशत निको भएका छन् ।

दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट छ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका दुई जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । 

‘शुक्रबार निको हुनेसँगै कर्णालीमा कोरोना उपचार गराएर घर फर्कनेको सङ्ख्या एक हजार १७८ पुगेको छ’, महाशाखा प्रमुख डा. तिवारीले भने, ‘यसले बाँकी रहेका ३०५ सङ्क्रमितको मनोवल बढेको छ ।’ कर्णालीका संक्रमितमा कोरोना भाइरसको देखिए पनि अहिलेसम्म लक्षण नदेखिएको उनले बताए ।

दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा नारायण नगरपालिकाका आठ र एक डुङ्गेश्वर गाउँपालिका व्यक्तिमा कोरोना पुष्टि भएको छ । १०५ जना स्थानीय संक्रमितसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमितको सङ्ख्या एक हजार ४८३ पुगेको छ । त्यसमध्ये १०५ जना स्थानीय संक्रमित हुन् भने बाँकी सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार स्थानीय संक्रमितमा स्वास्थ्यकर्मी, क्वारेन्टाइन र आइसोलेसनमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि रहेका छन् । अधिकृत कँडेलले भने, ‘२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधि र अन्य १५ जना स्थानीयमा कोरोना देखिएको छ, तीमध्ये धेरैजसो निको भएर फेरि काममा फर्किसकेका छन् ।’ कोरोनाका कारण कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि