काठमाडौं । सरकारले पिसिआर परीक्षणको दायरा क्रमशः बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा पिसिआर परीक्षणको सङ्ख्या बिस्तारै बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा विभिन्न २४ वटा प्रयोगशालामा ७ हजार ४१६ वटा नमूना परीक्षण गरिएको कोभिड–१९ को जानकारी दिन आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यो अहिलेसम्मकै उच्च हो ।
शुक्रबार ६ हजार २३१ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो । सरकारले यही असार १५ गतेदेखि दैनिक १० हजार नमूना पिसिआर विधिबाट परीक्षण गर्ने तयारी गरेको छ ।
हालसम्म पिसिआर विधिबाट एक लाख ६९ हजार १६५ नमूनाको परीक्षण गरिएको छ । यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४२६ सहित हालसम्म दुई लाख ५२ हजार ३०० जनाको आरडिटी परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए ।
मुलुकभरका क्वारेन्टिनमा एक लाख दुई हजार २४५ जना रहेका छन् । आइसोलेशनमा रहनेको सङ्ख्या ७ हजार पाँच छ । पछिल्लो २४ घण्टामा १८ महिला र १५८ पुरुष गरी कूल १७६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना मुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या १४१ महिला र एक हजार ४३७ पुरुष गरी कूल एक हजार ५७८ पुगेको छ । कोरोनाबाट हालसम्म २२ जनाको मृत्यु भएको छ ।