मंसिर ०७, २०८१, शुक्रबार
               

११ महिने बालक कोरोना जितेर डिस्चार्ज

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

कञ्‍चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएपछि बालक सुनारलाई डिस्चार्ज गरिएको बताए ।

स्वास्थ्य आपतकालीन केन्द्र रामशाहपथको पत्रानुसार थप एक हप्ता होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गरिएको उनले बताए । होम आइसोलेसनमा बस्दा चिकित्सकको नियमित सम्पर्कमा रहने गरी र स्वास्थ्य मन्त्रालयको जारी निर्देशिकामा उल्लेख गरिएका कुराको पालना गर्नेलगायतका कुरा सम्झाएर पठाइएको उनको भनाइ छ । कोरोना जितेका बालक र उनकी आमालाई टीका र खादा ओढाएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बिदाइ गरे । 

अस्पतालमा ३० कोरोना सङ्क्रमित उपचाररत छन् ।


कस्तो लाग्यो ?

यो पनि