बैशाख २७, २०८१, बिहीबार
               

विदेशबाट फर्केका नागरिक राख्न भक्तपुरका स्थानीय तहको यस्तो छ तयारी

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । भक्तपुरुका केही स्थानीय तहले विदेशबाट स्वदेश फर्कन लागेका आफ्ना नागरिक राख्न क्वारेन्टाइन निर्माण र होटेलको व्यवस्थामा जुटेका छन् । 

यसै क्रममा भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाले विदेशबाट फर्केका आफ्ना नागरिकलाई होटलमा राख्ने भएको छ ।

नगरपालिकाले अस्थायी क्वारेन्टाइनको निर्माण नगरी होटलमा राख्ने तयारी गरेको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिए ।

जसका लागि उनले होटल व्यवसायीसँग छलफल गरिसकेको बताए । 

‘तर, विदेशबाट आउने व्यक्ति आफैँले होटलमा बसेको खर्च व्यहोर्नुपर्ने छ,’ उनले भने, ‘क्वारेन्टाइनमा राख्दा कोरोनाको जोखिम हुन सक्छ, होटलमा भए शौचालयदेखि बस्ने कोठासमेत फरक हुन्छ ।’

तर, मध्यपुरथिमि नगरपालिकाले विदेशबाट फर्किने आफ्ना नागरिकका लागि क्वारेन्टाइन, भेन्टिलेटरसहितको आइसोलेसन अस्पतालको व्यवस्था गरेको छ । 

नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्ना नागरिकलाई मात्रै सुविधा र संरक्षण दिने गरी व्यवस्थापन गरेको बताए । 

‘नगरपालिकाभित्र अन्य जिल्लाबाट आएर भाडामा बस्नेका लागि भने कुनै व्यवस्था गरिएको छैन,’ उनले भने, ‘विदेशबाट आउने मध्यपुरका स्थायी बासिन्दाका लागि होटलमा क्वारेन्टाइनको व्यवस्था गरेका छौँ, उनीहरुको स्वाब सङ्कलन परीक्षणदेखि आवश्यकता परे स्वास्थ्य उपचार, आइसियु र भेन्टिलेटरसहितको आइसोलेशनको समेत व्यवस्था हुन्छ ।’

त्यस्तै, चाँगुनारायण नगरपालिकाले नगरपालिकाले विदेशबाट स्वदेश फर्कने आफ्ना नागरिक राख्न वडावडामा क्वारेन्टाइनको व्यवस्था गर्न निर्देशन दिएको छ । 

‘आवश्यक पर्दा खरिपाटीस्थित विद्युत् प्राधिकरणको क्वारेन्टाइनलाई नै प्रयोगमा ल्याउन सकिन्छ,’ नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘होटलमा बस्न चाहने आफ्ना नागरिकका लागि आफैँले खर्च गर्ने गरी व्यवस्थापन गरिएको छ ।’ 

सूर्यविनायक नगरपालिकाले पनि नागरिकलाई राख्न १०० जना क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ । 

अहिले सो क्वारेन्टाइनमा भारतबाट फर्किएका नागरिकलाई राख्न सुरु गरिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताए ।


कस्तो लाग्यो ?

यो पनि