बैशाख २६, २०८१, बुधबार
               

ललितपुरका सबै पालिकामा कोभिड–१९ परीक्षण सुरु

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं । ललितपुरका सबै पालिकाले कोभिड–१९ परीक्षण सुरु गरेका छन् । 

काठमाडौं उपत्यकामा कोरोना संक्रमित व्यक्ति भेटिन थालेसँगै लालितपुरका सबै स्थानीय तहले कोरोना भाइरसको परीक्षण सुरु गरेका हुन् ।

स्थानीय तहले स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा राहत वितरणमा खटिएका कर्मचारी, जनप्रतिनिधि, चालक, सहचालक, सञ्चारकर्मीलगायतको परीक्षण गरिरहेका छन् । 

यो एक महिनाभित्र संक्रमण फैलिएका जिल्लाबाट आएका नागरिकको समेत परीक्षण भइरहेको बताइएको छ । 

ललितपुर महानगरपालिकाले शनिबार र आइतबार महानगरपालिका कम्पलेक्स, सोमबार लगनखेलचोक र मंगलबार हरिसिद्धिमा परीक्षण गरेको थियो । 

कतिपयको पिसिआर त कतिपयको आरडिटी विधिबाट परीक्षण गरिएको महानगरले जनाएको छ । शनिबार २११ को र आइतबार १४८ जनाको पिसिआर विधिबाट परीक्षण भएको थियो । 

शनिबार गरिएको परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ भने आइतबार गरिएको परीक्षणको नतिजा आउन बाँकी छ ।

महानगरले शनिबार नै ११९ व्यक्तिको आरडिटी परीक्षण गरेको थियो । 

त्यस्तै, सोमबार दिउँसो ३२९ जनाको आरडिटी परीक्षण भएको थियो । उनीहरु फलफूल, तरकारी, ग्यास बिक्रेता रहेको प्रवक्ता महर्जनले जानकारी दिए ।

मंगलबार विदेशबाट फर्किएका २७ व्यक्तिको आरडिटी परीक्षण गरिएको र त्यसको नतिजा आउन बाँकी रहेको महर्जनले जानकारी दिए । 
त्यस्तै, गोदावरी नगरपालिकामा आइतबार ९६ जनाको स्वाब र १०९ जनाको आरडिटी परीक्षण गरिएको थियो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शत्रुघन शाहले सोमबार गोदावरीमा ६४ को  पिसीआर परीक्षणका लागि स्वाब  संकलन गरिएको र १०९ को आरडिटी परीक्षण गरिएको जानकारी दिए । 

त्यस्तै, मङ्गलबार सात जनाको स्वाब सङ्कलन र १३ जनाको आरडिटी परीक्षण गरिएको शाहले जानकारी दिए । 

महालक्ष्मी नगरपालिकाले आइतबार र सोमबार रेड जोनमा परेका जिल्लाबाट आएका, विदेशबाट आएर अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका, अग्रपंक्तिमा रहेर काम गरिरहेका व्यक्तिलगायतको परीक्षण भइरहेको जनाएको छ । 

आइतबार ६७ जनाको पिसिआरका लागि स्वाब संकलन गरिएको र १९१ जनाको परीक्षण गरिएको थियो । 

त्यस्तै, सोमबार ९२ स्वाब सङ्कलन र १७६ को आरडिटी परीक्षण गरिएको छ । 

आरडिटी परीक्षणको नतिजा नेगेटिभ आए पनि पिसिआर प्रविधिबाट गरिएको परीक्षणको नतिजा आउन बाँकी रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद श्रेष्ठले बताए । 

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने तीन गाउँपालिकाले पनि कोभिड–१९ को परीक्षण अघि बढाइरहेका छन् । 

शनिबार महाँकाल गाउँपालिकाले ६१ को स्वाब र १३८ जनाको आरडिटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताए । 

कोञ्ज्योसोम गाउँपालिकाले शुक्रबार नै ६० को स्वाब सङ्कलन र १३६ जनाको आरडिटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महत्वले जानकारी दिए । उनले भने ‘६२ जनाको नै स्वाब सङ्कलन गरी टेकु पठाउँदा सबैको रिपोट नेगेटिभ आएको छ ।’ बाग्मती गाउँपालिकाले आज कोरोना परीक्षण गर्ने स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताए । 

उपत्यकामा यो साता कोभिड–१९ सङ्क्रमित भेटिन थालेसँगै यहाँका सबै पालिकाले परीक्षण गरिरहेका हुन् । ललितपुरमा पहिलोपटक मङ्गलबार एक जनामा सङ्क्रमण पुष्टि भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि