मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकामा संक्रमित संख्या लुकाउँदै सरकार !

नेपाल फ्ल्यास
जेठ ०७, २०७७

ADVERTISEMENT

पछिल्ला केही घटनाक्रमले स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र संक्रमितको सङ्ख्या कम देखाउने प्रयास गरेको पुष्टि भएको छ ।

हिजो मङ्गलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा ३८ वटा जिल्लामा संक्रमण फैलिएको बताउँदै केही नयाँ जिल्लाहरूको नामसमेत लिए ।

तर वास्तविकता ती संक्रमित स्थायी ठेगाना अन्यत्र भए पनि काठमाडौंमै बस्दै आएको खुलेको छ । लमजुङ, रामेछाप र सिन्धुलीका संक्रमित सो जिल्लामा रहेका नभई उनीहरू काठमाडौँ उपत्यकाभित्रै बस्ने भएको स्वयं सम्बन्धित जिल्ला प्रशासन अधिकारीहरूले बताइसकेका छन् ।

लमजुङका संक्रमित भनिएका ३ वर्षका बालक हुन् । उनी हाल काठमाडौँमा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जनाएका छन् । मन्त्रालयले लमजुङका संक्रमित भनेपछि जिल्लामा पनि खोजी गरिएको थियो । तर उनी काठमाडौँ महानगरपालिका १६ को वनस्थली बस्दै आएको हुन् ।

रामेछापका संक्रमित भनिएका व्यक्ति पनि काठमाडौंमै रहेको पाइएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–१ निवासी उनी वैशाख ३० गते काठमाडौँ आएका थिए ।

सुनसरीका संक्रमित भनिएकामध्ये महिला भक्तपुरका मध्यपुर थिमी र पुरुष भक्तपुरकै दुवाकोटमा बस्दै आएका छन् । उपत्यकाबाहिरका भनिएका बिरामी काँडाघारी, सिनामंगल, कपन, मच्छेगाउँ, दहचोकलगायतका स्थानमा बस्ने गरेको सूचना प्राप्त भएको छ ।

वास्तविक संक्रमित सङ्ख्या र संक्रमित रहेको क्षेत्र खुलाउँदा मानिसलाई सावधानी अपनाउन झनै प्रेरित गर्ने भन्दै सरकारले काठमाडौँमा वास्तविक सङ्ख्या लुकाएकोमा सरोकारवालाहरूले आपत्ति जनाएका छन् ।

सरकारले यो सामग्री तयार गर्दासम्म काठमाडौँमा १७ जना संक्रमित रहेको जनाएको छ । तर सरकारी स्रोतहरूका अनुसार काठमाडौँ उपत्यकाभित्र थप आधा दर्जनभन्दा बढी संक्रमित रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि