कैलाली । धनगढीमा उपचाररत कोरोना संक्रमित एक युवा आइतबार डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा उपचारपछि ठीक हुनेको संख्या चार पुगेको छ । कुल ३१ संक्रमितमध्ये २७ जनाको उपचार भइरहेको छ ।
सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित २१ वर्षीय युवक उपचारपछि घर फर्किएका हुन् । उनी कैलालीको लम्कीचुहा नगरपालिका–९ निवासी हुन् । लगातार दुइपटकको परीक्षणमा नतिजा नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
ती युवक भारतबाट चैत ११ गते फर्किएका थिए । उनी चैत १३ गतेदेखि प्रतापपुर क्वारेन्टाइन रहेका थिए । क्वारेन्टाइनमा रहेको ११ दिनपछि उनी संक्रमित रहेको पुष्टि भएको थियो । १३ दिनको उपचारपछि उनी घर फर्किएका छन् ।
अस्पतालले कम्तीमा एक साता अरु मानिसको नजिक सम्पर्कमा नरही सामाजिक दुरी कायम गर्न सुझाव दिएको छ ।