काठमाडौँ । कोरोना भाइरसको संक्रमण र मृत्यु बढेसँगै उपचारपछि निको हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।
नेपालमै पनि ३ जना संक्रमित निको भएका छन् । शनिबारमात्रै दुई जना संक्रमित उपचारपछि ठिक भएर डिस्चार्ज भएका थिए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति एवं छाती तथा श्वासप्रश्वास सम्बन्धी रोगका विशेषज्ञ डा. अर्जुन कार्कीका अनुसार कोरोना संक्रमणका ८० प्रतिशत बिरामी सामान्य अवस्थाको रुघाखोकीको भन्दा कम असर देखिन्छ । उनका अनुसार बाँकीलाई अलि कडा प्रकृतिको संक्रमण हुन्छ ।
विश्वभर कुल संक्रमितमध्ये २६ प्रतिशतभन्दा बढी उपचारपछि ठिक भइसकेका छन् । पछिल्लो एक महिना धेरै संक्रमित भएकोले निको हुनेको प्रतिशत कम देखिएको हो । प्रायजसो संक्रमितको एक महिनाभन्दा बढी समय हुने गरेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभरमा २३ लाख ३३ हजार ८९५ जना संक्रमित देखिएका छन् । त्यसमध्ये ६ लाख ४०६ जना निको भइसकेका छन् । त्यस्तै यतिबेलासम्म १ लाख ६० हजार ८२० जनाको मृत्यु भइसकेको छ ।
अहिले निको र मृत्यु भएका बाहेक अहिले विश्वभर १५ लाख ७२ हजार ६६९ जना संक्रमित छन् । त्यसमध्ये १५ लाख १७ हजार ३९९ जनाको अवस्था सामान्य छ । उपचाररत ९६ प्रतिशतको अवस्था सामान्य छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा उपचाररत २८ जना संक्रमितको अवस्था पनि सामान्य छ । विश्वभर ५५ हजार २७० जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ । त्यो उपचारमा रहेका संक्रमितको ४ प्रतिशत हुन आउँछ ।
पछिल्ला दिनमा उपचारपछि निको हुनेको सङ्ख्यामा सुधार आइरहेको छ । इटाली, स्पेन, इरान, दक्षिण कोरिया तथा कोरोना भाइरसको जन्मभूमि चीनमा समेत उपचारपछि निको हुनेको सङ्ख्या बढ्दै गएको छ ।
अहिलेसम्म कुल संक्रमित ७ प्रतिशतको ज्यान गएको छ । पछिल्लो समयमा गम्भीर बिरामीको सङ्ख्या पनि घट्दै गएको छ । ४ प्रतिशतको हाराहारीमा मात्रै गम्भीर बिरामी रहेकोले मृत्यु प्रतिशत पनि घट्दै जाने अनुमान विशेषज्ञहरूले गरेका छन् ।
कोरोना भाइरसको सम्भावित संक्रमण र विस्तारबाट विचलित हुनु पर्ने अवस्था छैन । तर पनि कोरोना भाइरसबाट मुक्तिका लागि 'सोसल डिस्टेन्स' कायम गर्नु नै हो । संक्रमण फैलन नदिनु नै यसबाट छिटो मुक्ति पाउनु हो । अहिलेसम्म यसको खोप नबनेको र यसका लागि विशेष औषधिसमेत बनिनसकेको अवस्थामा छैन । नेपालमा पनि नियमित साबुनपानीले हात धुने, लकडाउनको पालना गर्ने, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनेलगायत सरकारको अनुरोध तथा विशेषज्ञहरूको सुझावलाई पालना गर्न आवश्यक छ ।