मंसिर ०१, २०८१, शनिबार
               

बागलुङमा कोभिड–१९ को जोखिम घट्दै

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

बागलुङबाट कोभिड–१९ को उच्च जोखिम घट्दै गएको छ । 

कोभिड–१९ का पाँचौँ र छैटौँ संक्रमित भेटिएको बागलुङमा बिहीबारसम्ममा ६२ जनामा ‘पिसिआर’ र एक हजार ३० मा दु्रत जाँच (आरडिटी) गर्दा सबै रिपार्ट नेगेटिभ आएसँगै कोभिड–१९को जोखिम घट्दै गएको हो ।

एकै नगरपालिकामा दुईजनामा कोरोना देखिएपछि बाग्लुङलाई उच्च जोखिमका दृष्टिले हेरिएको थियो । 

सङ्क्रमित दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्युआर ६५२ मा गत चैत ४ गते नेपाल आएका थिए । 

यसबीचमा दुवै सङ्क्रमितको ‘कन्ट्याक ट्रेसिङ’ सकिएको छ । जाँचका क्रममा दुवै परिवारका सदस्यमा कोरोना भाइरस नदेखिएको स्वास्थ्य कार्यालय, बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । 

‘पाँचौँ सङ्क्रमित युवतीसँग सम्पर्कमा आएका थप २१ जनाको स्वाब सङ्कलन गरी जाँचका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ,’ उनले भने, ‘पाँचौँ संक्रमितसँग सम्पर्कमा आएका थप २१ जनाको जाँचको रिपोर्ट आएपछि जिल्लामा जोखिमको अवस्थाबारे थप आँकलन गर्न सकिनेछ ।’ 

पाँचौँ सङ्क्रमितबाट पनि बुबालगायत घरका सदस्यमा भने कोरोना सरेको नदेखिएको उनले बताए । 

धौलागिरि अस्पतालले दुवै कोरोना बिरामीको अवस्था हाल सामान्य रहेको बताएको छ । 

‘दुवै बिरामीको अवस्था सामान्य नै छ, छैटौँ संक्रमित महिलालाई पुरानै उच्च रक्तचाप र दमको औषधि दिइरहेका छौँ,’ अस्पताल प्रमुखले भने, ‘दुवै संक्रमितमा कोरोना भाइरसको थप जाँचका लागि स्वाब पोखरा पठाइएको छ ।’ 

उनले यसअघि युवतीको तेस्रो र महिलाको दोस्रोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताए । 

‘लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामी घर फर्कन पाउनेछन्,’ अस्पताल प्रमुख पोखरेलले भने । 

सरकारले दुईजना सङ्क्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान  गरी र्‌‌यापिड टेस्ट गर्ने निर्णय गरेको थियो । 
कोरोना परीक्षणको दायरालाई थप बढाइने स्वास्थ्य कार्यालयले जनाएको छ । जारी परीक्षणका बीच पनि समुदायमा सङ्क्रण फैलने जोखिमबाट भने बागलुङ मुक्त छैन । 

जिल्लामा भेटिएका दुवै सङ्क्रमणका घटना आयातित भएकाले विदेशबाट आएका सबैलाई निगरानीमा राखिएको छ । चैत महिनायता करिब ८०० भन्दा बढी विदेशबाट जिल्ला भित्रिएको तथ्याङ्क छ । स्थानीय तहले विदेशबाट आएकाको लगत राख्ने र क्वारेन्टाइनको प्रबन्ध मिलाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि