बैशाख २१, २०८१, शुक्रबार
               

लकडाउनको पूर्ण परिपालना गराउने सरकारको निर्णय, आवागमनमा कडाइ गरिने

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

सरकारले लकडाउनमा अझ कडाइ गर्ने भएको छ । लकडाउनको पूर्ण परिपालना गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

मन्त्रिपरिषद्को शनिबारको बैठकले एक प्रदेश र अर्को प्रदेशबीच, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन् ।

उनले संक्रमणको जोखिमलाई बढ्न नदिन सबैभन्दा उत्तम उपाय नै आवागमनलाई नियन्त्रण गर्नु रहेको बताए । आवागमन नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकारले पनि प्रभावकारी रुपमा काम गर्नेगरी निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

उनले लकडाउनको अवधि बढाउने कि नबढाउने भन्नेबारे अर्को बैठकले टुंगो लगाउने जानकारी दिए ।

कोरोना संक्रमित भेटिएका कैलाली, कञ्चनपुर र बागलुङ जिल्लाका सम्भाव्य जोखिमका व्यक्तिको र्‍यापिड टेस्टिङ प्रविधिबाट परीक्षण गरिने र त्यसको आधारमा संक्रमित वा शंका भएका व्यक्तिको पीसीआर विधिबाट परीक्षण गरिने उनले बताए । अब परीक्षणलाई अलि मास स्केलमा लगिने जानकारी पनि उनले दिए ।

त्यसैगरी सरकारले स्वास्थ्य उपकरण यथासम्भव छिटो उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि