मंसिर ०७, २०८१, शुक्रबार
               

मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकको परामर्श लिन सकिने

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

काठमाडौँ । विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरूले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ ।

हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरी विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेसनका सिइओ उद्धवराज भेटुवालले जानकारी दिए ।

सन् २०१६ मा सुरु भएको एपले हाल अनलाइन परामर्श सेवा, अस्पतालमा टिकट बुकिङलगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरण गरिरहेको छ । एन्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेसनमा परामर्शका लागि सयौँ विशेषज्ञ चिकित्सकहरू उपलब्ध रहेको भेटुवालले जानकारी दिए । एपका साथै हाम्रो डक्टर डटकममा पनि यो सुविधा रहेको छ ।

मोबाइल एप्लिकेसनमा उपलब्ध चिकित्सकहरूसँग सशुल्क र निःशुल्क दुवैखालको परामर्श सेवा लिन सकिन्छ । परामर्श सेवामा बिरामीले आफ्ना जिज्ञासा व्यक्तिगत रूपमा गोप्य ढङ्गले पनि सोध्न सक्छन् । परामर्शको क्रममा एप प्रयोगकर्ताले डाक्टरलाई एपबाटै रिपोर्ट र फोटो एवंभिडियोसमेत देखाउन सक्छन् ।

एप्लिकेसनबाट बिस्तारै भिडियो परामर्शको सेवा पनि लिनसकिने एपका सिटिओ अशोक बस्नेतले जानकारी दिए । निःशुल्क रूपमा प्लेस्टोरमा उपलब्ध एप डाउनलोड गरी यस विषम अवस्थामा आफ्ना स्वास्थ्य समस्या तथा जिज्ञासाका बारेमा डाक्टरहरूसँगसहजै परामर्श लिन हाम्रो डक्टरले सबैलाई अपिल गरेको छ ।

एपबाट लिन मिल्ने सशुल्क परामर्शका लागि सबैजसो डिजिटल पेमेन्ट गेटवेबाट शुल्क तिर्न सकिन्छ । हाम्रो डक्टरमा ईसेवा, फोन पे, खल्ती, आइएमई पे, ईबैंकिगबाट समेत पैसा तिर्न सकिन्छ । यसका अलावा विदेशमा रहनेहरूले क्रेडिट कार्ड एवं मास्टर कार्डबाट पनि भुक्तानी गर्न सकिन्छ ।

कोरोना भाइरसबाट उत्पन्न त्रास र लकडाउनको अवस्थामा अस्पताल जान नसकेका चिकित्सकसँग परामर्श र उपचार सेवा नराम्ररी प्रभावित भएको छ । यो अवस्थामा चिकित्सक, अस्पताल तथा जनस्वास्थ्यविदहरूले घरमै बसेर चिकित्सकसँग अनलाइन परामर्श गर्न प्रोत्साहित गरिरहेका बेला यो एपका बारेमा धेरैभन्दा धेरैले जानकारी पाउन आवश्यक देखिएको छ ।

कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भएका बेला एप्लिकेसनले आफ्ना सेवाहरूमा २० प्रतिशत छुटसहितको कुपन कार्ड वितरण गरिरहेको छ । सो कोड हाम्रो डक्टरको फेसबुक पेजमा पाउन सकिन्छ ।


कस्तो लाग्यो ?

यो पनि