जेठ ०४, २०८१, शुक्रबार
               

बढ्दै कोरोना संक्रमण, विश्वभर मृत्यु हुनेको सङ्ख्या ३८ हजार नाघ्यो

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

नयाँ कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको असर विश्वव्यापी रूपमा फैलिरहेको छ । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ हजार नाघेको छ ।

चीनमा नियन्त्रणउन्मुख रहेको बताइए पनि दक्षिण कोरियालगायतका केही मुलुकबाहेक सबैमा यो सङ्क्रमण द्रुत गतिमा फैलिएको छ ।

सोमबारमात्र विश्वभर ६१ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । त्यस्तै सोमबारनै ३ हजार ७१८ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट २०१ वटा मुलुक प्रभावित भएका छन् ।

नेपाली समयअनुसार मङ्गलवार अपरान्हसम्म ३८ हजार एक सयभन्दा बढीले ज्यान गुमाएका छन् । सबैभन्दा बढी फैलावट अमेरिकामा देखिएको छ । एकैदिनमा अमेरिकामा २० हजार ३५३ सङ्क्रमित बढ्दा स्पेनमा ७ हजार ८४६ जना बढेका छन् । इटालीमा थप ४ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमितको सङ्ख्या अमेरिकामा सबैभन्दा बढी भए पनि मानवीय क्षति भने इटालीमा सबैभन्दा बढी छ । इटलीमा ११ हजार ५९१ जनाको मृत्यु भइसकेको छ । त्यहाँ एक लाख एक हजार ७३९ जनामा सङ्क्रमण देखिएको छ ।

स्पेनले पनि कोरोना सङ्क्रमणको भारी मूल्य चुकाउनु परेको छ । स्पेनमा अहिलेसम्म ७ हजार ७१६ जनाको मृत्यु भएको छ भने करिव ८८ हजारलाई सङ्क्रमणको पुष्टि भएको छ ।

नियन्त्रणनजिक पुगेको चीनमा पछिल्लो एक दिनमा पाँच जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म ३ हजार ३ सय जनाको ज्यान गुमेको छ । चीनमा ८१ हजार ४३९ जनामा कोरोना भाइरस सङ्क्रमण भएको जानकारी एजेन्सीहरूले दिएका छन् ।

यस्तै फ्रान्समा कोरोना सङ्क्रमणबाट ३ हजार २४ जनाको मृत्यु भइसकेको छ । त्यहाँ ४४ हजार ५५० जना सङ्क्रमित छन् । उता ४१ हजारभन्दा बढी सङ्क्रमित भएको इरानमा २ हजार ७५७ जनाको ज्यान गएको छ ।

फ्रान्स र इरानभन्दा बढी सङ्क्रमित भएको जर्मनीमा ६४५ जनाको ज्यान गइसकेको छ । त्यहाँ झन्डै ६७ हजारमा सङ्क्रमणको पुष्टि भइसकेको छ ।

युरोपेली मुलुक नेदरल्यान्ड्समा ८६४, बेल्जियममा ५१३ र स्विट्जरल्यान्डमा ३५९ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भइएको छ ।

कोरोना सङ्क्रमणबाट बढी मानवीय क्षति भएका देशहरू :

क्रस देश संक्रमित मृत्यु
इटाली १,०१,७३९ ११,५९१
स्पेन ८७,९५६ ७,७१६
चीन ८१,५१८ ३,३०५
अमेरिका १,६४,२५३ ३,१६६
फ्रान्स ४४,५५० ३,०२४
इरान ४१,४९५ २,७५७
बेलायत २२,१४१ १,४०८
नेदरल्यान्ड्स ११,७५० ८६४
बेल्जियम ११,८९९ ५१३
१० स्विट्जरल्यान्ड १५,९२२ ३५९
११ टर्की १०,८२७ १६८
१२ ब्राजिल ४,६६१ १६५
१३ स्वीडेन ४,०२८ १४६
१४ पोर्चुगल ६४०८ १४०
१५ इन्डोनेसिया १,४१४ १२२

अहिलेसम्ममा नेपालमा पाँच जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । त्यसमध्ये एक जना निको भइसकेका छन् । ४ जनाको उपचार जारी छ । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणको लक्षण देखिएका ९९३ जनाको परीक्षण गरिएको छ । ५ जनाबाहेक सबैलाई कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएको हो ।

छिमेकी मुलुक भारतमा कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ । केही भारतीय सञ्चारमाध्यमले ३६ जनाको मृत्यु भएको जनाएका छन् । त्यहाँ एक हजार २५१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

सार्क सदस्य मुलुकहरूमा पाकिस्तानमा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् । त्यहाँ १ हजार ७१७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ २१ जनाको मृत्यु भइसकेको छ ।

नेपाल, माल्दिभ्स र भुटानबाहेक सार्कका पाँचवटै मुलुकमा मानवीय क्षति भइसकेको छ । बङ्गलादेशमा ५, अफगानिस्तानमा ४ र श्रीलङ्कामा २ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । सबैभन्दा कम सङ्क्रमित भुटानमा ४ जना भेटिएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि