जेठ ०४, २०८१, शुक्रबार
               

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

नेपाल वायु सेवा निगमको वाइड बडी जहाजमार्फत चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा मेडिकल सामग्री निगमले जिम्मा लगाएको हो ।

चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री बोकेर आएको वाइड बडी जहाज आज बिहान काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । निगमका प्रवक्ता अर्चना खड्काले चीनबाट ल्याइएको मेडिकल सामग्री सरकारलाई हस्तान्तरण गरिएको बताइन् । यसैबीच चिनियाँ दूतावासले कोभिड–१९ को रोकथाम तथा उपचारजन्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तर गरेको छ । 

मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ती मेडिकल सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकाललाई हस्तान्तरण गरेकी हुन्। चीनका प्रसिद्ध व्यापारी ज्याक माको अलिबाबा र ज्याक मा फाउण्डेसनसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पठाएको सहयोग राजदूतले हस्तान्तरण गरेकी हुन् ।

चीन सरकार र विभिन्न संस्थामार्फत आएको सहयोग स्वास्थ्य सामग्री चिनियाँ दूतावासमार्फत सरकारलाई हस्तान्तरण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनका अनुसार सरकारले खरिद गरेको र चीन सरकार तथा त्यहाँका विभिन्न सामाजिक संस्थाले सहयोग गरेको मेडिकल सामग्री आएको हो । 

यी समान सिचुवान प्रान्त तथा चिनियाँ दूतावास, अलिबाब फाउण्डेशन, ज्याक मा फाउण्डेशन, चाइना सीएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनीलगायतले सामान पठाएको मन्त्रालयले जनाएको छ । चीनबाट एक लाख पीपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको जनाइएको छ


कस्तो लाग्यो ?

यो पनि