बैशाख ०७, २०८१, शुक्रबार
               

के गर्मीमा कोरोना सङ्क्रमण कम हुन्छ ? १२ प्रश्नमा विश्व स्वास्थ्य संगठनको सुझाव

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

नयाँ कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण विश्वभर फैलिएको छ । यसबाट कसरी बच्ने भन्ने आमतवरको चासो भएको छ । यो खाँदा उचित हुने कि त्यो खाँदा राम्रो हुन्छ भन्ने जिज्ञासा मानिसमा छ । त्यस्तै कुन उमेरका मानिसलाई के कस्तो जोखिम छ भन्ने चासो पनि राख्ने गरिएको छ । कतिपय अन्तर्राष्ट्रिय मिडियाले उच्च तापक्रममा कोरोना सङ्क्रमण कम हुने अपुष्ट समाचार पनि दिएका छन् । के हो त वास्तविकता ?

विश्व स्वास्थ्य सङ्गठनले दिएको सुझावलाई प्रश्नोतर शैलीमा सरल भाषामा प्रस्तुत गर्ने प्रयास गरिएको छ :

१. के उच्च तापक्रम भएको स्थानमा नयाँ कोरोना भाइरसको सङ्क्रमण कम हुन्छ ?

- हुँदैन । गर्मीका कारण कोरोना भाइरस सर्ने वा नसर्नेसँग खासै सम्बन्ध हुँदैन । यो भाइरस सबै मौसम र क्षेत्रमा पुग्न सक्छ । गर्मीमा पनि यो भाइरसले असर गर्न सक्छ । अहिलेसम्मको प्रमाणबाट कोभिड १९ भाइरस जस्तोसुकै जलवायु भएको स्थानमा जान सक्छ । यसबाट बच्न आफैँ सावधान हुनुहोस् । प्रभावित क्षेत्रहरूको भ्रमण नगर्नुहोस् । यसबाट बच्ने उत्तम तरिका हात बारम्बार सफा गर्नु हो । यसबाट तपाईंको हातबाट भाइरस हटने छ । तपाईंको हातमा भाइरस भएमा त्यो शरीरमा सर्दछ । आँखा, मुख र नाकमा छुँदा यो सङ्क्रमण लाग्न सक्छ ।

२. चिसो र हिमपातले कोभिड १९ भाइरस मार्दैन ?

- चिसो मौसमले नयाँ कोरोना भाइरस वा अन्य रोगहरू मार्न सक्छ भनेर विश्वास गर्ने आधार छैन । कोरोना भाइरसबाट आफूलाई जोगाउने सबैभन्दा प्रभावकारी तरिका तपाईँको हातहरू साबुनपानीले धुनु वा हातको सफाइ गर्नु हो ।

३. तातोपानीले नुहाउँदा कोरोना भाइरसबाट बच्न सकिन्छ ?

- तातोपानीले नुहाउँदैमा कोभिड १९ सङ्क्रमणबाट बच्न सकिँदैन । सामान्य शरीरको तापक्रम ३६.५ देखि ३७ डिग्री सेल्सियसको आसपास रहन्छ । एकदम तातोपानीले नुहाउनु उल्टो हानिकारक हुन सक्छ ।

४. कोरोना भाइरस लामखुट्टेको टोकाइबाट सर्छ ?

- सर्दैन । अहिलेसम्म लामखुट्टेको टाेकाइबाट कोरोना भाइरस सरेको न त जानकारी छ न प्रमाण नै । कोरोना भाइरस श्वासप्रश्वासको भाइरस हो । जुन मुख्य रूपले सङ्क्रमित व्यक्तिले खोख्दा वा हाँसेपछि थुक वा र्‍यालको माध्यमबाट सर्दछ । मुख वा नाकबाट निस्कने थुक, र्‍याल, कफ तथा सिगानको माध्यमबाट यो सर्दछ ।

५. के हात सुख्खा गर्ने ड्रायर कोरोना भाइरस मार्न प्रभावकारी हुन्छ ?

- हुँदैन । हात सुकाउने ड्रायरहरू कोरोना भाइरस मार्न प्रभावकारी छैनन् ।

६. के सम्पूर्ण शरीरमा स्प्रिट वा क्लोरिन लगाउँदा/छर्कदा कोरोना भाइरस मर्न सक्छ ?

- मर्दैन । तपाईँको सम्पूर्ण शरीरमा स्प्रिट वा क्लोरिन दले वा लगाएमा भाइरसहरू मर्दैनन्, जुन तपाईँको शरीरमा प्रवेश गरिसकेका छन् । त्यस्ता पदार्थहरूको स्प्रे गर्नु कपडा वा अन्य हिसावले हानिकारक हुन सक्छ, जस्तै आँखा, मुख । त्यस्ता बस्तुहरू बाहिरी सतहको कीटाणु मार्न उपयोगी हुन सक्छन् । त्यसको प्रयोग विशेषज्ञको सिफारिसका आधारमा गर्नु पर्दछ ।

७. के निमोनियाविरुद्धको खोपहरूले कोरोना भाइरसबाट बच्‍न सकिन्छ ?

- निमोनियाविरुद्ध खोपहरूले नयाँ कोरोना भाइरसबाट जोगिन सकिँदैन । यो भाइरस नयाँ र फरक छ । यसका लागि नयाँ खोप चाहिन्छ । अन्वेषकहरू यसविरुद्धको खोप बनाउन प्रयासरत छन् । विश्व स्वास्थ्य संगठनले उनीहरूको कदममा सहयोग गरिरहेको छ ।

८. के नियमित रूपमा नाकको सरसफाइले कोरोना भाइरसको सङ्क्रमणमा बचाउन सक्छ ?

- अहँ । त्यस्तो कुनै प्रमाण छैन । नियमित रूपमा नाकमा सफा गर्दा कोरोना भाइरसको सङ्क्रमणबाट मानिसहरूलाई जोगाउने आधार छैन ।

९. के लसुन खानाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न मद्दत पुग्छ ?

- लसुन एक स्वस्थकर खानेकुरा हो । यसमा केही एन्टिमाइक्रोबियल गुण पनि छन् । तर अहिलेसम्म कुनै प्रमाण छैन कि लसुन खानाले मानिसहरूलाई कोरोना भाइरसबाट जोगाएको छ ।

१०. कोरोना भाइरसले कुन उमेर समूहका लागि संवेदनशील छ ?


- सबै उमेर समूहका मानिसमा यो सङ्क्रमण देखिएको छ । पाको उमेरका व्यक्तिहरू तथा दम, मधुमेह, हृदय रोगलगायतका दीर्घ रोगीलाई यो भाइरस जोखिमपूर्ण हुन सक्छ ।

११. के एन्टिबायोटिकहरू कोरोना भाइरसको सङ्क्रमण रोक्न तथा उपचार गर्न प्रभावकारी छन् ?

- छैन । एन्टिबायोटिकले भाइरसको उपचारमा काम गर्दैन । यो त केवल ब्याक्टेरियाहरूको उपचारका लागि मात्र हो ।

१२. के कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि औषधिहरू बनेका छन् ?

- कोरोना भाइरस रोक्न वा उपचार गर्न अहिलेसम्म कुनै विशेष औषधि सिफारिस गरिएको छैन । यद्यपि भाइरसबाट सङ्क्रमितहरूको उपचार समस्या र लक्षणका गर्नु उचित  हुन्छ । विश्व स्वास्थ्य संगठनले साझेदारहरूको अनुसन्धान प्रयासलाई अघि बढाउन सहयोग गरिरहेको छ ।

 

यो पनि