कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।
कर्नाटकको टुमकुरका ६५ वर्षीय व्यक्तिको पछिल्लो पटक मृत्यु भएको हो । उनी ५ मार्चमा दिल्ली गएर ११ मार्चमा फर्किएका थिए ।
टुमकुरका डेपुटी कमिसनर डा. के. राकेश कुमारले उनीसँगै यात्रा गरेका सबै यात्रुको खोजी भइरहेको बताएका छन् ।
भारतमा हालसम्म ७७५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले तीन दिनअघि तीन साताका लागि भारतभर लकडाउन घोषणा गरेका छन् । यसबीचमा पनि कोरोना संक्रमण भने फैलँदै गएको छ ।
कोरोना भाइरस सङ्क्रमणविरुद्ध भारतीय सेनाले अपरेसन थालेको छ । त्यसको नाम 'अपरेसन नमस्ते' राखिएको छ । सेना प्रमुख जनरल एमएम नरवानेले 'अपरेसनमा सफल हुने विश्वास व्यक्त गरेका' छन् ।