महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणपछि सबैभन्दा बढी ज्यान गुमाउनेमा बुढापाका र दिर्घरोगी छन् । तर, कतिपय यस्ता भाग्यमानी देखिएका छन् जो उमेर शतक काटिसकेका पनि यो रोगबाट सङ्क्रमित भएर बाँच्न सफल भए ।
गत डिसेम्बरमा देखा परेपछि विश्वमा हजारौँको ज्यान लिइसकेको यही रोगको सङ्क्रमणमा परेकी इरानकी १ सय ३ वर्षिया हजुरआमा भने मृत्यु नजिक पुगे पनि स्वस्थ्य भएर घर फर्केकी छन् ।
सेम्नन युनिभर्सिटी अफ मेडिकल साइन्सका रेक्टर नभेद दयानीका अनुसार ती हजुरआमालाई अस्पतालबाट डिस्चार्ज गर्दा उनी कोभिड–१९ बाट सङ्क्रमित भएर पनि ज्यान बचाउन सफल संसार मै दोस्रो सर्वाधिक उमेरकी बिरामी बनेकी थिइन् ।
दयानीले ती बिरामीको नाम भन्न नमिल्ने बताए पनि ती महिला पूर्णरुपमा स्वस्थ्य भएर घर फर्किएको जानकारी दिए ।
एक साताअघि मात्रै चिनियाँ अधिकारीले १ सय ३ वर्ष कै एक वृद्ध मात्र ६ दिनको उपचारपछि स्वस्थ्य भएर घर फर्किएको सार्वजनिक गरेका थिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित हुने पाका उमेरका र दीर्घ रोगीको मृत्यु हुने सम्भावना अत्यधिक रहन्छ ।
वुहानमा १ सय १ वर्षका वृद्ध पनि यो रोगबाट बाँचेको भोलिपल्ट इरानी हजुरआमा यो रोगको सङ्क्रमणबाट मुक्त हुने सबैभन्दा पाका व्यक्ति बनेकी छन् ।
साथै यसै साता वुहान मै अल्जाइमर, हाइपर टेन्सन र हृदयघातको सिकार भइसकेका १ सय वर्षका वृद्धलाई समेत स्थानीय सैनिक चिकित्सकले कोभिड–१९ को सङ्क्रमणपछि निको बनाएका थिए ।
यही रोगका कारण गत जनवरीको अन्त्यदेखि वुहानका झन्डै १ करोड १० लाख बासिन्दा घरमा कैदी जीवन बिताउँदै आएका छन् ।
गत डिसेम्बरको अन्त्यतिर वुहानबाट सुरु भएको सो रोगबाट अहिलेसम्म चीनमा मात्रै ८० हजार ७ सयभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनले यो रोगको इपिसेन्टर अहिले युरोप बनेको घोषणा समेत गरेको छ ।