काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरस नेपाल प्रवेश गर्न नदिन उच्च सावधानी अपनाएको बताएका छन् ।
राष्ट्रिय सभामा कोरोनाबारे सरकारले के गरिरहेको छ भनी उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बताएका हुन् ।
स्वास्थ्यमन्त्री ढकालले मुलुकभर दुई सय ३५ वटा आइसियू र एक सय ५५ आइसोलेटेड बेड तत्काल व्यवस्था गर्न सरकार जुटिसकेको बताए ।
कोरोनाबारे सांसद्ले उठाएका प्रश्नको उत्तर दिने क्रममा उनले काठमाडौं उपत्यकाभित्र एक सय २० र काठमाडौं बाहिर एक सय १५ गरी दुई सय ३५ आइसियू तत्कालै व्यवस्था गर्ने काममा सरकार जुटेको पनि बताए ।
‘एक सय ५५ वटा आइसोलेटेड बठहरु अहिले तयारी अवस्थामा छन्,’ मन्त्री ढकालले भने’, ‘एक सय सय २९ नाकामध्ये ४३ वटा बिन्दुमा स्वास्थ्य डेक्स राखिएको र त्यहाँबाट आउने जाने व्यवस्था मिलाइएको भन्दै सीमा जोडिएका स्थानीय तहलाई सावधानीका लागि २१ बुँदे निर्देशन पठाइसकिएको छ ।’
उनले कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर एक लाख ५६ हजार संक्रमित, पाँच हजार आठ सय ३९ जनाको मृत्यु भएको बताए ।
‘विश्वका ७५ हजार ९ सय ३७ जना मानिस उपचारपछि घर फर्केका र ७४ हजार ९ सय ९० संक्रमित अवस्थामा छन्,’ उनले भने, ‘कोरोना संक्रमण १ सय ५२ राष्ट्रमा फैलिएको र ४६ राष्ट्रका मानिसको मृत्यु भएको छ ।
तर, नेपालमा ४ सय ६४ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’ उनले सरकारको नेपालभित्र कोरोना प्रवेश गर्न नदिने उद्देश्य रहेको बताए । र, त्यसका लागि उच्च सावधानी अपनाइएको बताए ।