जेठ ०८, २०८१, मंगलबार
               

सबै पालिकामा १५ श्ययाका अस्पताल

रासस
फागुन २३, २०७६

ADVERTISEMENT

रुकुम । रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

सिस्ने गाउँपालिका–५ को रुकुमकोट स्वास्थ्य चौकी र  भूमे गाउँपालिका–९ को चुनबाङ स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न लागिएको प्रदेश ५ का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए। 

पुथाउत्तरगङ्गा गाउँपालिकाको कोल प्राथमिक स्वास्थ्य केन्द्रलाई गत वर्ष नै  स्तरोन्नति गर्ने निर्णय भएको थियो । नजिकै उपचार सेवा पाइने आशा पलाएको चुनबाङ गैरीगाउँकी मनकुमारी पुनले बताइन् ।

अहिले सर्वसाधारण सामान्य उपचारका लागि  रोल्पाको बागमारा पुगेर निजी क्लिनिकमा उपचार गर्न बाध्य छन् ।

चुनबाङ रोल्पाका धेरै गाउँको केन्द्र मानिन्छ । “यसैले चुनबाङमा अस्पताल बन्नु भनेको रुकुमपूर्व र रोल्पाका सर्वसाधारणका लागि पनि सुविधा मिल्नु हो,” गैरीगाउँका प्रेमबहादुर पुन मगरले भने, “अब ससाना रोगका लागि दाङ, नेपालगञ्ज झर्नुपर्ने बाध्यता हट्छ कि भन्ने आशा पलाएको छ ।” निर्णय कार्यान्वयनका लागि वडा तथा गाउँपालिकाले आवश्यक पहल गर्नुपर्ने उनले बताए।

स्तरोन्नति भएका स्वास्थ्य सस्थाको चालू आवमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । अस्पतालमा सम्बन्धित गाउँपालिका र सङ्घीय सरकारको संयुक्त लगानी रहने जनाइएको छ । रुकुमकोट स्वास्थ्य चौकी भने अन्यत्रै सारिएको छ ।

यसअघि स्वास्थ्य चौकीको भवनमा जिल्ला अस्पताल उद्घाटन गरेर सञ्चालन गरिएको छ भने वडा नं.५ को उक्त स्वास्थ्य चौकीलाई वडा नं. ६ मा लगिएको छ ।

सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालका अनुसार, सङ्घीय सरकारको निर्णय प्राप्त भएपछि यस विषयमा छलफल हुने र अस्पताल निर्माणका लागि गाउँपालिकाबाट आवश्यक पहल हुनेछ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि