जेठ ०२, २०८१, बुधबार
               

अब कहिल्यै बाँडिने छैन, त्यो निमन्त्रणा

एजेन्सी
फागुन ११, २०७६

ADVERTISEMENT

वुहान । नोबल कोराना भाइरसको उद्गमस्थल वुहानमा सो रोगबाट मर्नेहरुले अनेकौं पीडादायक कथा छाडेर गएका छन् । यो रोगबाट साधारण मानिस मात्र होइन, यसको रोकथाम र बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीले पनि ज्यान गुमाउनु परेको छ ।

भयानक रोगहरुको सूचीमा कान्छो रोगको रुपमा वुहानबाट सुरु भएको यो रोग कै कारण २९ वर्षिय एक डाक्टरले पनि ज्यान गुमाएका छन् । कोरोना भाइरस अर्थात कोभिड–१९ बाट मर्ने उनी सबैभन्दा कम उमेरका स्वास्थ्यकर्मी हुन् ।

चिनियाँ समाचार संस्था सिन्व्हाका अनुसार वुहानको जियाङसिया जिल्लाको नागरिक नम्बर १ अस्पतालमा कार्यरत पेङ यिन्हुवाको कोरोना भाइसरको बिरामीको उपचार गर्ने क्रममा आफैं संक्रमित भएर गत बिहीबार निधन भएको थियो ।

केहीअघि मात्र मनाइएको चिनियाँ नयाँ वर्षमा विवाह गर्ने योजनामा रहेका श्वासप्रश्वास तथा गम्भीर रोग सम्बन्धि विज्ञ चिकित्सक पेङले कोरोना भाइरसबाट ग्रस्त बिरामीहरुको सेवामा खटिन कै लागि आफ्नो विवाह सारेका थिए ।

‘पेङले उनकै कार्यालयको दराजमा रहेको विवाहको निमन्त्रणा अब कहिल्यै कसैलाई पठाउन सक्दैनन्, अब त्यो कहिल्यै बाँडिने छैन,’ पेङलाई श्रद्धाञ्जलि दिँदै उनका एक मित्रले समाजिक संजालमा लेखेका छन् ।

कोरोना भाइरसकै कारण वुहानमा घटीमा ८ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । सो रोगका विशेषज्ञहरुका अनुसार कोरोना भाइरसको संक्रमण पाका व्यक्ति तथा रोगीहरुमा बढी देखिएको छ । यद्यपि चिनियाँ अधिकारीहरुले यो रोगबाट मर्नेहरुको औषत उमेर सार्वजनिक गरेका छैनन् ।

यो रोगबाट चीनमा मात्रै २ हजार २ सय जनाले ज्यान गुमाइसकेका छन् भने ७५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।
वुहानमा औषत कति उमेरका व्यीक्तमा यो भाइरसको संक्रमण देखिएको छ भन्ने आधिकारीक पुष्टि नभएपनि अहिलेसम्मको आँकडाले जन्मेको ३० घण्टाका एक नाबालकमा समेत यो रोगको संक्रमण देखिएको थियो । 

फेब्रुअरी महिनाको सुरुवातमा ३४ वर्षिय चिकित्सक लि वेङ्लियाङको पनि निधन भएको थियो । उनी तिनै डाक्टर थिए जसले कोरोना भाइरसको संक्रमण सुरु भएको सार्वजनिक चेतावनी दिँदा कारवाहीसमेत व्यहोर्नु परेको थियो । समाजमा त्रास फैलाएको आरोप व्यहोर्नु परेको थियो । 

यस्तै वुहानस्थित वुचाङ अस्पतालका निर्देशक लिउ जिमिङको गत मंगलबार यही संक्रमणका कारण निधन भएको थियो ।
चिनियाँ अधिकारीका अनुसार १ हजार ७ सयभन्दा बढी स्वास्थ्यकर्मी यो रोगको भाइसरबाट संक्रमित भइसकेका छन् । जसमा अधिकांश सेन्ट्रल हुबेइ प्रान्तका छन्, जसमा वुहान शहर पनि अवस्थित छ ।

अहिले वुहानका स्वास्थ्यकर्मीहरुलाई मास्क तथा रोगनिरोधक वस्त्रको निकै अभाव भइरहेको बताइन्छ । कतिपय त आफैंले तयार पारेको ड्रेस लगाएर निरन्तर बिरामीको सेवामा खटिरहेका छन् । जसले गर्दा उनीहरुमा पनि श्वासप्रश्वासको समस्या देखिएको छ । स्थानिय स्वास्थ्यकर्मीका अनुसार उनीहरुको अवस्थासमेत दयनीय बन्दै गइरहेको छ ।

पेङको निधनमा सामाजिक संजालमा दुख मनाउनेको घुइँचो देखिन थालेको छ । जसमा अधिकांस युवा छन् । 
‘यो साह्रै पीडादायक बिछोड हो, कपाल फुलेका अभिभावकले कालो कपाल भएका छोरालाई बिदा गर्नु अनि पत्नी बन्न लागेकी एक महिलाले अब कहिल्यै उसँग बिहे गर्न नपाउनु । यस्ता कुराले साह्रै पीडा दिन्छ,’ एक युवकले माइक्रोब्लगिङ प्लाटफर्म वेबोमा लेखेका छन् ।

साभार : एजेन्सी


कस्तो लाग्यो ?

यो पनि