बैशाख २४, २०८१, सोमबार
               

चीनबाट नेपालीलाई ल्याएपछि खरिपाटीका स्थानीयले घर छाडे
कोही झ्याल-ढोका लगाएरभित्रै लुके

ADVERTISEMENT

खरिपाटी, भक्तपुर । चीनको वुहानबाट नेपालीलाई फर्काएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा राखिएपछि स्थानीयहरू घर छाडेर हिँडेका छन् । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलमा चीनबाट फर्काइएका १ सय ७५ जनालाई राखिएको छ । उनीहरूलाई लिन गएका स्वास्थ्यकर्मीतथा प्राविधिकहरू राखिएका छन् । 

उनीहरूमा कोरोना भाइरसको संक्रमण भएको खण्डमा अरूलाई सर्न सक्ने भन्दै उनीहरूले आफन्त तथा परिवारसँग भेट्न पाउने छैनन् । अबको १४ दिन उनीहरू निगरानीमा रहनेछन् । क्वारेन्टाइनमा राखिएकाहरूको निगरानी गर्न सेना प्रहरीका ८० जना स्वास्थ्यकर्मीहरु खटाइएको छ । 

क्वारेन्टाइनका दुई भवन खाली गराउने समयमै विरोध जनाउँदै आएका स्थानीयहरू अहिले नेपालीलाई राखेलगत्तै घर छाडेका हुन् । विद्युत् प्राधिकरणको भवनलाई घेरिएको कम्पाण्ड  आसपासका स्थानीयहरू त्रसित छन् । कतिपय स्थानीय झ्याल ढोका बन्द गरेरभित्रै बसेका छन् । घरमै बसेका केही स्थानीयहरू समेत त्रास र क्रोधमा छन् । बस्तीको बीचमा क्वारेन्टाइन राख्नु कुनै पनि हालतमा उपयुक्त नभएको बताउँदै आन्दोलन समेत गरेका थिए । तर सरकारले स्थानीयको कुरै नसुनी क्वारेन्टाइन बनाएपछि उनीहरू त्रसित भएका हुन् । स्थानीयहरूलाई अहिले सामान्य रुघा तथा ज्वरो आएमा पनि डराउने अवस्था रहेको स्थानीयहरू बताउँछन् ।

बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा क्वारेन्टाइन राखेकोले आफूहरू त्रसित बनेको स्थानीय अर्जुनलाल श्रेष्ठले बताए । उनले भने ‘विश्वभर आतङ्क फैलिएको कोरोनाको संक्रमण केन्द्रबाट आएका चीनबाट फर्काइएका नेपालीलाई घनावस्तीको बिचमा राखिएको छ, उनीहरूमा कोरोनाको खतरा छ, उनीहरूमा भएको जीवाणु हावामा फैलिन सक्ने र सर्न सक्ने आशङ्कामा  डराएर घर छाडेका छन् ।’

सो क्षेत्र आसपासका सडकमा समेत मान्छेहरू कमै मात्र आवतजावत भइरहेको छ । घरमा भएका स्थानीयहरू तथा पैदलयात्रीहरू अधिकांशले मास्क प्रयोग गरेका देखिन्छन् । तर स्थानीय पसलमा भने मास्क बेच्न राखिएको छैन । चीनबाट ल्याइएकाहरूलाई विश्वस्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य उपकरणसहित २४ सै घण्टा निगरानीमा राखिएको छ । सो कारण स्थानीयलाई कुनै खतरा नहुने भए पनि उनीहरू त्रसित देखिएका चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । ‘चाँगुनारायणको केन्द्र र बस्तीको बीचमा रहेको यो क्षेत्र कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको र क्वारेन्टाइन राख्दा स्थानीयवासीबाट आउने अवरोध र सङ्कटलाई मध्यनजर गर्दै सरकारलाई अन्यत्र विकल्प खोज्न भनेका थियौ, तर कुनै खतरा नहुने भन्दै हामीलाई आश्वासन पारिएपछि हामीले क्वारेन्टाइन राख्न सहमत भएका हौ, तर पनि स्थानीयहरू अझै ढुक्क देखिएनन्’ नगरप्रमुख मिश्रले भने ।

हेल्प डेस्कको माग

चीनको वुहानबाट उद्धार गरिएका नेपालीहरूलाई खरिपाटी ल्याएपछि चाँगुनारायण नगरपालिकाका नगरप्रमुख मिश्रले स्थानीयहरूको लागि छुट्टै हेल्थ डेस्क माग गरेका छन् । क्वारेन्टाइनमा बस्नेहरूको लागि हरेक दिन स्वास्थ्य जाँच गर्दा त्यहाँका स्थानीयहरूको पनि स्वास्थ्य जाँच गर्नु पर्ने भन्दै केन्द्र सरकारसँग कुरा राख्ने बताए । उनले भने ‘यहाँ राख्नै दिन्नौ भन्दा पनि, अन्त नराखिकन किन यहाँ राखियो र यहाँको जनताहरूको सुरक्षा के हुन्छ ? यसैले तत्काल हेल्प डेक्स माग स्वरूप पहल गरिरहेका छौँ ।’

यसअघि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णयसँगै स्थानीयवासीले चर्को विरोध गरेका थिए । स्थानीयवासीले क्वारेन्टाइन राख्न नदिने भन्दै दैनिक आन्दोलन गर्दै गरेका थिए । चाँगुनारायण नगरपालिकामार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । स्थानीयको विरोधपछि चाँगुनारायण नगरपालिकाले नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको थियो । साथै विकल्प खोज्न आग्रह गरेको थियो ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि