बैशाख १४, २०८१, शुक्रबार
               

नेताको घरघर किन चहार्दै छन् विप्लव ?

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा हतियार बोकेर भूमिगत भएका विप्लव उनै देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेपछि बालुवाटार केन्द्र बनाउँदै शीर्षस्थ नेतासँगको छलफललाई तीव्रता दिएका छन् । अघिल्लो सरकारकै पालामा ४ महिनाअघि बालुवाटार छिरे पनि विप्लव निष्क्रिय जस्तै थिए । सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा ब्युँतिएलगत्तै विप्लवले राजनीतिक भेटघाट तीव्र बनाएका हुन् । 

२०७१ मङ्सिर १५ गते राष्ट्रिय नाचघरमा मोहन वैद्य नेतृत्वको पार्टीबाट अलग भएको भन्दै नयाँ पार्टी गठन गरेको थियो । नयाँ पार्टी घोषणा कार्यक्रमपछि भूमिगत भएका सात बर्सपछि शान्तिपूर्ण राजनीतिलाई अघि बढाउने तरखरमा देखिएका छन् ।

वैद्य माओवादीबाट अलग हुँदा ‘जनसेना’ले घेरिएर फौजी स्टाइलमा आएका विप्लव त्यसको तीन वर्षपछि २०७३ जेठ ६ मा टुँडिखेलमा एक आमसभामा  देखिएका थिए । त्यतिबेला उनले फौजी कमब्याट ड्रेसमै आमसभामा 'दमदार' भाषण गरेका थिए । 

उनका अघिपछि फौजी पोसाककै हतियार विनाका 'जनसेना' थिए । त्यसपछि कतै नदेखिएका उनी २१ फागुन २०७७ मा बालुवाटार छिरे । तर यसपालि उनले नत ‘कम्ब्याट ड्रेस’ लगाएका छैनन् । न त  ‘जनसेना’ले घेरिएका नै छन् । सेतो सर्टमाथि कालो कोट र पाइन्टमा सजिएर नेताहरूको घर दैलोमा चहारिहरेका छन् विप्लव ।

२०७५ फागुनमा विप्लवको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको थियो । विभिन्न आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको भन्दै उनका सहयोद्धा रामबहादुर थापा बादल गृहमन्त्री हुँदा विप्लवमाथि बन्देज लगाइएको थियो । पछि सोही सरकारले फुकुवा गर्दै सम्झौता गर्‍यो । 

सझौतासँगै भूमिगतबाट खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ चार महिनापछि पुन: सक्रिय भएका हुन् । २१ फागुन २०७७ मा राष्ट्रियसभामा सार्वजनिक भएपछि गुपचुप बसेका उनी असार अन्तिम सातापछि सक्रिय देखिएका हुन् ।

गत बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट भेटघाट सुरु गरेका विप्लवले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । यसबीचमा उनले जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसम्मलाई भेट्न भ्याए । संस्थापनसँग असन्तुष्ट रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत विप्लवले भेट गरे ।

अझै माओवादी केन्द्र छाडेर एमाले बनेका पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु शाहसँग पनि  विप्लवले भेट गरेको नेताहरु बताउँछन् । यसमा पनि समसामयिक राजनीतिक विषयमा छलफल भएको दाबी गरिएको छ ।

असार २८ गते प्रतिनिधिसभा ब्युँतियो । २९ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए । लगत्तै विप्लव राजनीतिक भेटघाटमा सक्रिय हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अर्कोतर्फ पूर्वमाओवादीका नेता रहेका विप्लवले ओली–माधवबाहेक धेरैजसो पूर्वसहकर्मीसँग भेटघाट गरेका छन् । यसलाई पनि धेरैले चासोका साथ लिएका छन् ।

माओवादीका नेताहरु अहिले चारतिर छरिएका छन् । एक समूह प्रचण्डसँग छ । अर्को समूह क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य किरणसँग । उता कम्युनिस्ट राजनीति छाडेको बताउने जसपाका नेता भट्टराईसँग पूर्वमाओवादीका सानो समूह छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्ववत् अवस्थामा फर्किएपछि रामबहादुर थापा बादल लगायतका नेताहरू एमालेमा छन् । यससँगै केही युवा नेता तथा कार्यकर्ताको समूह स्वयम् विप्लवसँग छ ।

सहमति कार्यान्वयनको पहल

सरकारसँग शान्तिपूर्ण राजनीतिक गतिविधिमा संलग्न हुने सम्झौता गरेका विप्लवको एकाएक बढेको भेटघाटले छिन्नभिन्न बनेका पूर्वमाओवादी शक्तिलाई एकीकृत गर्ने प्रयास गरेको समेत धेरैले विश्लेषण गरेका छन् । 

गत फागुनमा विप्लव सार्वजनिक हुँदा सरकारसँग तीन बुँदे सहमति भएको थियो । सो सहमति कार्यान्वयनलाई मुख्य रूपमा उठाउँदै विप्लवसहितका नेता विभिन्न दलका नेतासँग भेटवार्तामा लागेको बताइन्छ । 

विप्लवसँगै नेताहरूसँग भेटघाटमा सहभागी नेता धर्मेन्द्र बास्तोला सरकारसँग भएको सहमति कार्यान्वयनको दबाबको लागि भेटघाटमा सक्रिय भएको बताउँछन् ।

उनले भने ‘विगतमा सरकारसँग भएका सहमति पालना गर्ने विषयमा छलफल गर्न, सरकारलाई पूर्ण पालना गराउन दबाब दिन भेटघाट भइरहेको छ । साथै बललिँदो राजनीतिक परिस्थितिपछिको अवस्थाबारे दलहरूको धारणा बुझ्न भेटघाट र छलफल भइरहेको हो ।’


कस्तो लाग्यो ?

यो पनि