बैशाख ०४, २०८१, मंगलबार
               

हराउँदै होलीको शान 'जोगिरा सरर'

नेपाल फ्ल्यास
फागुन २३, २०७९

ADVERTISEMENT

भैरहवा । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगिरा लोपोन्मुख हुन थालेको जनाइएको छ  ।  पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ ।

तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, मजिरा, करताल, हार्मोनियम र डफला (एक प्रकारको डम्फु)का तालमा सुनिने जोगिरा गीत एक दशकयता बिस्तारै लोपोन्मुख हुँदै गएको छ । आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीकको रूपमा रहेको होली पर्वमा गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव आदानप्रदानको माध्यम पनि हो जोगिरा । होलीको मुख्य गहनाका रूपमा रहेको जोगिरा सुनिन छाडिएपछि यो पर्व अहिले रङ र अबीरमा मात्र सीमित हुँदै गएको छ । 

सामाजिक छुवाछूत, जातीय भेदभाव, व्यक्तिगत रिसराग बिर्सिएर भातृत्व भाव र समानताको सन्देश दिन होलीलाई रमाइलो पर्वका रूपमा मनाउने परम्परा छ । तर यी सबैलाई एक ठाउँमा बाँधेर राख्ने जोगिराको स्थानमा अचेल ‘डिस्को’ बाजा बज्न थालेपछि होलीको मौलिकता हराउँदै गएको रुपन्देहीका ग्रामीण क्षेत्रका बासिन्दाको गुनासो छ ।

लुम्बिनीका बासिन्दा वीरेन्द्र मिश्रले स्थानीय संस्कृतिलाई संरक्षण गर्न र गीतद्वारा आफ्ना दुःख सुख जोगिरामार्फत व्यक्त गर्ने गरिएका बत्ताउँछन् । उनले अहिलेको पुस्ता यसलाई बिर्सिँदै गएको र डिजेमा भुल्ने गरेको गुनासो गरे । “हामी हुँदासम्म जेनतेन यसलाई धानिरहेका छौँ, हामी नरहे हाम्रो परम्परा जोगिरा पनि नरहने भयो ।” उनले भने, “आजकलमा युवाहरू डिजेमा अश्लील गीत सुन्न मै रमाउँछन्, जोगिरा जोगाउनतर्फ उनीहरूलाई उत्प्रेरित गर्न सकिएन ।” 

पहिले पहिले गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगिरा गाइने चलन थियो । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको हो । होलीमा गाइने यस्ता गीतलाई नै ‘जोगिरा’ भनिन्छ । 

होलिया (फागु गीत गाउने गायक)का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवनालाई पनि उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलियाहरू बताउँछन् । सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रूपमा ग्रामीण होलीको महत्त्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको लुम्बिनी सांस्कृतिक विरहा समूहका राधेश्याम पालको भनाइ छ । पौराणिक होली गीतमा विषयवासना, प्रेमालाप, सीताराम र शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । 

अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलता जस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको उनले बताए । तराई–मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षण एवं स्थानीय भाषा र संस्कृतिको रक्षाको लागि केही पाका स्थानीयले “लुम्बिनी सांस्कृतिक विरहा समूह” गठन गरेका छन् । समूहकै सदस्य जनार्दन यादवले आजका युवालाई फागु बुझाउन समूह लागि परेको बत्ताउँछन् । तर युवाहरूको यसप्रति आकर्षण नभएको उनको भनाइ छ ।

पौराणिक कथाअनुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमन्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णु भक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउँदा होलिका डढेर भस्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दु समाजमा फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढाइँ गर्ने चलन रहिआएको छ ।


कस्तो लाग्यो ?

यो पनि