तमसो मा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट ज्योतितिर, प्रकाशतिर बढौँ– यो आर्ष वचन हो, उपनिषद्को निर्देशन हो । वर्षा ऋतुका काला बादलहरू बिदा भएसँगै उल्लासमय उज्यालो शरद् ऋतुको आगमन भएको छ । कविशिरोमणिका भावलाई सापटी लिएर भन्नुपर्दा “आकाश निर्विकार देखिएको छ ।” प्रकृतिमा सर्वत्र नवीनताको आभास भइरहेको छ । वर्षाको जलराशिले पुष्ट भएकी पृथ्वीबाट रस लिँदै सयपत्री, गोदावरी ढकमक्क फुलेका छन्, फक्रिएका छन् । नेपालीले वर्षायाममा भएको फोहोरमैला, जालो आदि पन्छाउँदै घरआँगन लिपपोत, रङरोगन गरेर दीपोत्सव मनाउने तयारी गर्न थालिसकेका छन् । नेपाली समाजमा गोबर, माटो वा चुनले पोत्ने प्रचलन छ । यसो गर्दा वर्षाजनित धेरै कीटाणु नष्ट हुन्छन् । रोग व्याधी फैलन पाउँदैनन् । मन पनि प्रमाद र अवशादबाट मुक्त हुन्छ । अनि स्वच्छताको यसै उमङ्गमा आमोद–प्रमोद र हर्षोल्लासका साथ यमपञ्चक पर्व मनाइन्छ ।
कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्मको पाँच दिनलाई हामी यमपञ्चक भन्छौँ । दीपावली, दिवाली आदि नामले विख्यात यी पाँच दिनलाई उत्सवप्रिय नेपाली समाजले तिहार नाम दिएको छ ।
काग तिहार/धनतेरस/धनवन्तरी जयन्ती
पहिलो दिन काग तिहार, यमराजको दूतका रूपमा कागको पूजा गरेर सुरु गरिन्छ । यस दिनदेखि नै दीपावलीको महोत्सव आरम्भ हुन्छ । धनत्रयोदशी/धनतेरस नामले परिचित यस दिन मानिस नयाँ भाँडाकुँडा, सुनका गरगहना आदि खरिद गर्नु शुभ मान्दछन् । तसर्थ बजारमा यस दिनले भाँडाकुँडा र गरगहना खरिद गर्ने पर्वको रूप पनि पाएको छ । धनतेरसमा फलामको भाँडाकुँडा खरिद गर्नु अशुभ मानिन्छ । यस दिन यमराजको पूजा गरिन्छ र सन्ध्याकालमा उनै यमको नामले ‘यमदीपदान’ भनी बत्ती बालिन्छ ।
यमराज कालका देवता हुन् । शास्त्रहरूमा यमलाई सूर्यको पुत्रका रूपमा उल्लेख गरिएको छ । सूर्य समय अर्थात् काल–मापनका आधार पनि हुन् । यस कारण काललाई सूर्यको पुत्रका रूपमा चित्रण गरिनु उचित पनि देखिन्छ । यस दृष्टिले यमको पूजन गर्नु भनेको काल अर्थात् समयको पूजन गर्नु पनि हो । समयको पूजन भन्नाले समयको मान राख्नु, समय खेर नफाल्नु, समयको सदुपयोग गर्नु भन्ने बुझ्न सकिन्छ । यमलाई दीपदान गर्नुको अर्थ समयलाई उज्ज्वल बनाऔँ भन्ने द्योतकका रूपमा पनि लिन सकिन्छ ।
यसै दिन देव र असुरको संयुक्त प्रयासमा समुद्र मन्थनका क्रममा भगवान् विष्णु धन्वन्तरीका रूपमा अमृत कलशसहित प्रकट हुनुभएको पौराणिक प्रसङ्गलाई स्मरण गर्दै धनवन्तरी जयन्ती पनि मनाइन्छ । वैद्य समुदायले भगवान् धनवन्तरीको पूजन गरेर समाज एवं राष्ट्रका लागि स्वास्थ्य तथा समृद्धिको याचना गर्छन् ।