बैशाख २७, २०८१, बिहीबार
               

हिन्दु राष्ट्र जागरण अभियान सुरू

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाललाई हिन्दु कामय गराउन 'हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान' सुरु गरिएको छ ।

ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा बिहीबार एक कार्यक्रम गरी 'हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान'को सुरुवात गरिएको हो ।

उद्घाटन कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक रूक्माङ्गद कटवालले नेपालमा सबैलाई जोड्ने संस्कृति हिन्दु संस्कृति भएकोले हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्न अभियान सुरु भएको बताए ।

उनले हिन्दु राष्ट्र धार्मिक विषयमात्रै नभएर नेपालको परम्परादेखिको सांस्कृतिक पहिचान भएको बताए । उनले सबै नेपालीको पहिचान, सम्मान, स्वाभिमान, अभिभाज्यतालाई बलियो बनाउन हिन्दु राष्ट्र चाहिएकोमा जोड दिए । 

जुममार्फत देशभरिका एक हजारभन्दा धेरै कार्यकर्ता तथा शुभचिन्तकहरू जोडिएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का उपाध्यक्ष स्वामी केशवानन्दले ‘हिन्दु राष्ट्रको हाम्रो सङ्कल्पना’ विषयमा बोल्दै हिन्दु धर्मले सबै प्रकारका उपासना पद्धति अपनाउन स्वतन्त्रता दिएकोमा जोड दिँदै देशमा विधर्मीको प्रभाव बढ्दै जाँदा अनेक समस्या बढिरहेको बताए । उनले हिन्दु धर्मावलम्बीहरूलाई आफ्नो स्वाभिमान आफैँले जगाउन अगाडि बढ्न आग्रह गरे । 

शान्तिधामका मठाधीश स्वामी चतुर्भुजाचार्यजी महाराजले आफ्नो धर्म संस्कृतिलाई जीवनमा कायम गरे मात्र राष्ट्रले आफ्नो सही चिनारी दिन सक्ने बताए । उनले विश्वका सबै सभ्यताका विविध आयामहरू वैदिक सभ्यताकै देन भएको दाबी गरे । 

हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह–संघचालक कल्याणकुमार तिम्सिनाले हिन्दु धर्म संस्कृतिविरुद्धको प्रचारको सशक्त प्रतिवाद गर्नुपर्ने बताए ।

तिम्सिनाले हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान व्यक्तिलाई व्यक्तिसँग, समाजलाई समाजसँग  जोडेर राष्ट्रिय गौरवसँग जोडिने अभियान भएको बताउँदै अभियानमा सक्रियताका साथ सहभागी हुन आग्रह गरेका छन् । 

कार्यक्रममा स्वागत मन्तव्य तथा अभियानबारे आफ्ना धारणा राख्दै राजनीतिक विश्लेषक देवेश झाले आम जनमानसले आफ्नो गौरवशाली संस्कृतिको स्वाभिमान बिर्सिएको हुनाले नै समाजमा विकृति विसंगति मौलाइरहेको बताए । उनले यस्ता विकृति विसंगति हटाउन संस्कार सहितको शिक्षामा जोड दिए । 


कस्तो लाग्यो ?

यो पनि