बैशाख १२, २०८१, बुधबार
               

यस्तो छ अक्षय तृतीयाको महिमा

नेपाल फ्ल्यास
बैशाख ३१, २०७८

ADVERTISEMENT

आज बैशाख शुक्ल पक्षको तृतीया तिथि अर्थात् अक्षय तृतीया ।

अक्षयको अर्थ अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने भन्ने हो । आजको दिन गरेको जप, दान वा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात कहिले पनि नाश नहुने हुन्छ भन्ने धार्मिक विश्वास छ ।

त्यसैले आजको दिन पुण्यका कामहरू गर्नुपर्छ भनेर शास्त्रमा लेखिएको छ । शास्त्रमा अक्षय तृतीयाको दिन धर्म घडा पनि दान गर्नु भनिएको छ ।

पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको भनिएको छ । कतै सत्ययुगादि तिथि पनि भनिएको छ । यसैदिन सत्ययुगमा महादेव र पार्वतीको विवाह भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ । त्यसैले यो दिन विवाह गर्न मुहूर्त्त हेरिरहनुपर्दैन भन्ने सामाजिक मान्यता छ । 

यसैगरी भगवान् विष्णुका छैटौं अवतार परशुरामको जन्मदिन पर्छ । यो दिन गरिने अन्न–जलदानको ठूलो महत्त्व हुने अथवा गरिएको दान जस्तै भए पनि क्षय नहुने भएकोले अक्षय तृतीयाको नाम दिइएको हो । भविष्यपुराणमा भनिएको छ– यत्किञ्चिद्दीयते दानं स्वल्पं वा यदि वा बहु\ तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता अर्थात् यो दिन गरिएको धेरै वा थोरै दानको फल अक्षय हुन्छ । 

देवीपुराणमा रोहिणी नक्षत्रयुक्त वैशाखशुक्ल तृतीयालाई विशेष फलदायी मानिएको छ । वैशाख कृष्ण औँसीपछि तेस्रो दिनमा पर्ने अक्षय तृतीया तिथि घटबढका कारण यो वर्ष दोस्रो दिनमै परेको छ तर वैदिक पात्रोअनुसार बुधबार तृतीया तिथि नै हो । ‘तिथि टुट्दैन, अहोरात्र रहन्छ’ भन्ने वैदिक कालगणना पद्धति नअपनाइएका कारण यस्तो हुने गरेको हो । अर्वाचीन कालगणना पद्धतिअनुसार कतैकतै यस दिनलाई चतुर्थीयुक्त लिनु भन्ने पनि  निर्देश छ । 

यो दिन विशेषगरी पवित्र तलाउ, नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान पुराणादि ग्रन्थहरूमा पाइन्छ । यसैगरी यो दिन जौको सातु र जलसहितको घडादानको महिमा ठूलो रहेको छ । ब्रह्मा, विष्णु र महेश्वरको आवाहन गरी गरिएको घटदानबाट मनोरथ सिद्धि हुने बताइएको छ ।

अन्नहरूमा जौलाई महत्त्वपूर्ण मानिन्छ। अन्नहरुमा सर्वश्रेष्ठ पदार्थ मात्र नभई भगवान् विष्णुको प्रियवस्तु समेत मानिन्छ– जौ । संस्कृतका ग्रन्थहरुमा यवोऽसि धान्यस... अर्थात् जौलाई अन्नको राजा भनिएको छ । श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णले ‘औषधिनामहं यव’ अर्थात् औषधिहरूमा म जौ हुँ भनेको सन्दर्भ आउँछ । यी सन्दर्भहरूबाट पनि जौको महत्त्व कति रहेछ भन्ने कुरा प्रष्ट हुन्छ । आयुर्वेदिक ग्रन्थहरुमा जौ र जौको अंकुरबाट गर्न सकिने उपचारहरुको उल्लेख गरिएको पाइन्छ । आयुर्वेदिक अनुसार जौ पुष्टिवर्धक अन्न, शरीरलाई शीतलता प्रदान गर्ने र पाचन प्रक्रियाका लागि पनि उपयोगी वस्तु हो । 

आधुनिक चिकित्सामा पनि जौको प्रयोग व्यापक रूपमा भइरहेको पाइन्छ । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्त्व भन्दा जौ वा जौको अंकुरमा पाइने तत्त्व तुलनात्मक रूपमा बढी हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । जौबाट बनेका खाद्य पदार्थको सेवनले शरीरमा तागत दिने हाम्रै घरेलु प्रयोगबाट स्पष्ट हुन्छ ।

वैशाख महिना जौ तयार हुने समय हो । उष्णताले आक्रान्त पार्ने यो समयमा शरीरलाई फाइदा पुर्‍याउने एवं शीतलता प्रदान गर्ने जौको सातु एवं सख्खर, अदुवा, मरिच र अन्य मसला मिश्रित सर्वत दान दिएर आफूले पनि प्रयोग गर्नु स्वास्थ्य रक्षा वा धार्मिक हिसाबले पनि मनासिव देखिन्छ । 

दानको महिमा

हाम्रा धार्मिक ग्रन्हरूमा दानको ठूलो महिमा बताइएको छ । श्रीमद्भागवतगीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई ज्ञान दिने क्रममा ‘यज्ञो दानं तपश्चैव पावनानिमनीषिणाम्’ अर्थात्, ‘यज्ञ दान र तपले बुद्धिमानहरुलाई पवित्र बनाउँछ’ भनेका छन् । गच्छेअनुसार यथाशक्ति दान  दिनु र दान दिँंदा समय परिस्थितिअनुसार अनुकुल हुने वस्तु दिँंदा पुण्य प्राप्त हुने शास्त्रहरुले बताएका छन् । 

यसैगरी दान दिँंदा पात्रको पनि विचार गर्नुपर्ने शास्त्रहरूमा पाइन्छ । दान सँधै  सत्पात्रलाई मात्र गर्नुपर्ने कुरामा ध्यान दिनुपर्दछ। पहिचान नगरी वा विचार नपुर्‍याई दिइएको दान कुपात्रमा परे कुप्रयोग हुने हुँदा सत्पात्रलाई नै दान दिनुपर्छ । सत्पात्रले दानका वस्तु सुकर्ममा प्रयोग गर्ने हुनाले दान दिने र दिने दुवैको कल्याण हुन्छ । झन् अक्षय तृतीयाको दिन गरिएका जलघडा, सातु, सर्वत लगायतका दान झनै पुण्यदायक हुने बताइएको छ । 

 

 

 


कस्तो लाग्यो ?

यो पनि