बैशाख ०८, २०८१, शनिबार
               

राम–सीताको मूर्ति अयोध्यापुरीको लागि प्रस्थान

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

चितवन । राम, सीता, हनुमान र लक्ष्मणको मूर्तिलाई देवघाटबाट बिदाइ गरी मूर्तिअयोध्यापुरीको लागि प्रस्थान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाको मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरिएको हो ।

मङ्गलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा आज बिहान ८ः३० बजे माडीका लागि प्रस्थान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीसहितको उपस्थितिमा स्वस्ति वाचनसहित  शोभायात्रालाई बिदाइ गरिएको हो ।

आज बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेकसँगै राम, सीता, हनुमान र लक्ष्मणको मूर्तिलाई देवघाटबाट बिदाइ गरिएको हो । स्थानीयवासीले कलशयात्रासहित शोभायात्रालाई बिदाइ गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए ।

माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभायात्रासहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु मङ्गलबार ल्याइएको हो । यसरी ल्याइएका मूर्तिहरु अयोध्यापुरीको रामधाममा निर्मित मन्दिरमा आज दिनको १२ बजे राख्ने कार्यक्रम छ ।

सो कार्यक्रममा मन्त्री ढकाल, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतका उच्च अधिकारीको सहभागिता रहने आयोजकले जनाएको छ । गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया सुरु भएको थियो ।

प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो । मूर्तिलाई मङ्गलबार पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित पूजा गरेर ल्याइएको हो ।

उक्त शोभायात्रा दासढुङ्गाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, हाकिमचोक हुँदै माडी जाने छ । माडीमा पुगेपछि परशुराम कुण्डको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्ति स्थापना गरिने छ । 


कस्तो लाग्यो ?

यो पनि