मंसिर ०६, २०८१, बिहीबार
               

भक्तपुरमा बिस्केट जात्राको रथ तान्दा ढुङ्गा हानाहान, १९ जना घाइते

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

भक्तपुर । भक्तपुरमा हिजोदेखि सुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् ।

८ रात ९ दिनसम्म भव्यरूपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

हिजो दिउँसो ४ बजेदेखि रथ तान्न सुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय  दिपेश साँगाछें घाइते भएका छन् । घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएकामा कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ ।

त्यस्तै रथ तान्ने क्रममा ८ बजे भनपा–१ का १८ वर्षीय मनिष सिन्ताकल, भनपा–२ का २२ वर्षीय रमेश माता, भनपा–६ का ३० वर्षीय अमिक त्वायना घाइते भएकोमा भक्तपुरमा अस्पतालमा उपचार गरिएको र त्वायनालाई भने शिक्षण अस्पताल महाराजगञ्ज सिफारिस गरिएको प्रहरीले जानकारी दिएको छ ।

अर्का घाइते भक्तपुर नपा–६ बस्ने २५ वर्षीय सुनिल भुजेलको दाहिने खुट्टा भाँच्चिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ । घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत अन्यको भक्तपुर अस्पतालमा उपचारपछि घर फर्किएको प्रहरीको भनाइ छ ।

अधिकांश रथबाट खसेर, रथ तान्ने क्रममा रथको चक्कामा परेर, डोरीबाट लछारिएर र राति ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेर घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो । स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पुर्याइएको छ । यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो ।

रथलाई माथि लगे सुकुलढोकासम्म र तल लगे नासमना भन्दा वरैबाट फर्काएर दिउँसै गःहिटी रथ लैजाने नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको थियो । भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । विसं अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात् सर्प मर्यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ ।

थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले बताए ।

भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने भक्तपुरको दरबार स्क्वायर नेसं ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उनले बताए ।

अहिले पनि तलेजुमा बिस्काः जात्राको सङ्कल्पस्वरूप पूजाअर्चनामा विश्वजात्राको उल्लेख गरिन्छ । संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट जात्रा हुनपुगेको श्रेष्ठको भनाइ छ ।

बिस्केट जात्रामा भैरवको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उनको शक्ति भद्रकालीको पनि भएको बताइएको छ । विश्व भैरवनाथको प्रतीकका रूपमा लिङ्गोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उनको भनाइ छ । 
    
प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथ मन्दिरबाट भैरवनाथको मूलदेवता र बेतालको मूलदेवतालाई तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी टौमढीमा ल्याएर रथमा बिराजमान गराएपछि विधिवत्रूपमा जात्रा सुरु गरिन्छ ।

देवतालाई रथमा राखेपछि स्थानीयवासीले भैरवनाथको रथको अगाडि र पछाडि राखिएको डोरी तानातान गरेर माथिल्लो क्षेत्र र तल्लो क्षेत्रको बासिन्दाले रथलाई तानेर आ–आफ्नो टोलमा लैजान रथ तान्ने गरिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । सो रथलाई स्थानीय गःहिटी टोलमा पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ । 


कस्तो लाग्यो ?

यो पनि