जेठ ०२, २०८१, बुधबार
               

राष्ट्रपति भण्डारीद्वारा महाशिवरात्रिको संकल्प

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । फाल्गुन कृष्ण एकादशीका दिन मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री संकल्प गरेकी छन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण एकादशीका दिन महाशिवरात्रिको पूजा सामग्री राष्ट्राध्यक्षले संकल्प गर्ने प्राचीनकालदेखिको विधि छ । संकल्पपछि नै देशभरका शिवालयमा महाशिवरात्रिको चहलपहल सुरु हुन्छ ।

राष्ट्रपतिले महाशिवरात्रिको संकल्प गरेसँगै मङ्गलबार बेलुकीदेखि नै पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तलाई भोजनसहित धुनीको व्यवस्था गरिएको छ ।

पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भने आज बिहानदेखि भोजन र आज बेलुकीदेखि धुनीको व्यवस्था गरिने गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयकी प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

थापाथली क्षेत्रका बैरागी, सन्न्यासी, उदासी र नाथ सम्प्रदायका अखडामा पनि आज बिहानदेखि नै साधुसन्तलाई भोजनसहित बस्ने एवं बेलुकी धुनी जगाउने व्यवस्था गरिने छ । मङ्गलबार राष्ट्रपति भण्डारीले गुठी गोश्वारा कार्यालयबाट खर्पनमा लगिएको नरिवलको जटा, पीताम्बर, फूल, प्रसाद, अक्षता, धूपदीप, कपूरलगायत सामग्रीको संकल्प गरेकी थिइन् ।

यसैगरी साधुसन्तलाई संस्थानका तर्फबाट प्रदान गरिने शङ्ख, घण्ट, चमर, राडपाखी, त्रिशूल, कमण्डलु र पहेँलो वस्त्रसमेत संकल्प गरेको कार्यालय प्रमुख आचार्यले बताइन् । संकल्पपछि गुठी गोश्वारा कार्यालय र पशुपतिनाथ अमालकोट कचहरीका कर्मचारीलाई राष्ट्रपति भण्डारीले टीका एवं प्रसाद लगाइदिएकी थिइन् ।

कोरोना महामारीको जोखिम कायमै भए पनि पशुपति क्षेत्र र थापाथलीमा विगत वर्षमा जत्तिकै साधुसन्त महाशिवरात्रि मनाउन आएको कार्यालयले जनाएको छ । विशिष्ट साधुसन्त भने कम देखिएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि