काठमाडौं । पशुपनिनाथमा सुनको जलहरी राख्ने कामलाई अहिले कतिपयले विरोधको विषय बनाएका छन् । तर यसका जानकारहरू भने यसलाई विवादको विषय बनाउन नहुने तर्क राख्दछन् ।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं पशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने तर्क औचित्यहीन भएको बताएका छन् ।
नेपाल फ्ल्याससँग कुराकानी गर्दै उनले यसको विमतिमा उठेका स्वरहरूप्रति विमति जनाए । उनले भने- ‘मान्छेलाई भ्रम परेको छ, यो प्राणप्रतिष्ठा हो भनेर । जब मन्दिर भत्किएर नयाँ बनाइन्छ वा जीर्णोद्धार गरिन्छ वा नयाँ मूर्ति राखिन्छ अनि प्राणप्रतिष्ठा गरिन्छ तर यो भगवान्को आजको श्रृंगार भोलि उतारेजस्तै एउटा जलहरीको ठाउँमा अर्को राखिएको हो ।’
जलहरी भगवानलाई चढाइएको गहना भएकोले प्राणप्रतिष्ठा गर्न जरुरी नभएको दाबी डा. थापाले गरेका छन् । पशुपतिनाथमा गत वर्षदेखि नै महारुद्री गर्ने भनेर तयार गरिएको थियो । गत वर्षको चैत्र नवरात्रमा गर्ने भनिए पनि कोभिडका कारण स्थगित भएको थियो ।
आषाढ शुक्ल पक्षमा मूलभट्टले नै यसका लागि संकल्प गरेका थिए । यो नवरात्र सतचण्डी पनि गर्नका लागि रोजिएको कोषाध्यक्ष थापाले बताए । उनका अनुसार, भारतका बनारस र काशीका मन्दिरहरूमा पनि सुनकै जलहरी राखिएको छ ।
‘विश्वनाथ मन्दिरमा त खम्बा नै सुनको छ, त्यहाँ पनि भगवानको पीठिका (जलहरी), मुकुट र पाउ पनि पुरै सुनैसुनको छ । भारतका तिरुपति र सोमनाथ मन्दिरमा त हीराकै मुकुट छ भने गुहावटीस्थित कामाख्या मन्दिरमा गजुर नै सुनैसुनको छ’, उनले भने, ‘नेपालमा त्यसमा पनि पशुपतिनाथ मन्दिरमा किन नहुने ? पुरातत्त्व विभागले मापदण्डविपरीत वा बिग्रिने गरी राखेको भए रोकिसक्थ्यो, तर त्यो पनि छैन ।’
पशुपतिमा जलहरी यसअघि फेरिएको जानकारी उनले दिए । रणबहादुर शाहले तामाको जलहरी राखिएको उनले जनाए । उनले प्रश्न गरे- राजा महेन्द्रको पालामा चाँदीको फेर्न हुन्छ भने चाँदीको ठाउँमा सुनको राख्न किने नहुने ?
उनले जतिसक्यो राम्रो मन्दिर, मूर्ति बनाउने र सजाउने कुरा जताततैका मठमन्दिरका उदाहरण सबैसामु छर्लङ्ग भएको बताए ।
पशुपतिनाथको मन्दिरमा सुपुष्पदेव नामका राजाले सुवर्ण (सुन)को छानो बनाएर चढाउनुभयो भन्ने कुरा त अभिलेख र वंशावलीहरूमा नै उल्लेख छ । ‘चढाउनै नहुने भए त्यतिबेला किन चढाइयो ? त्यो हुने यो नहुने भन्ने हुन्छ ?’ डा. थापाले भने ।
इतिहासविद् ज्ञानमणि नेपालको पुस्तक ‘दर्शन स्पर्शनमा समीक्षा’मा पनि सुपुष्पदेवले पशुपतिको छानो सुनको बनाएर राखेको उल्लेख छ ।
कूलचन्द्र कोइरालाको ‘नेपालका आराध्यदेव भगवान् श्रीपशुपतिनाथ’ नामक कृतिमा पनि यस सम्बन्धमा उल्लेख गरिएको छ । डा. स्वामी प्रपन्नाचार्यको पुस्तक ‘६४ शिवलिङ्गको विश्लेषणात्मक अनुसन्धान’ मा लेखिएको छ, ‘शिवलिङ्ग दुई प्रकारका हुन्छन्, प्राकृत र कृत ।’
मानवले निर्माण र प्राणप्रतिष्ठान गरी पूजन गरेको लिङ्ग कृत हो भने प्रकृतिको गर्भभित्र भएका ढुंगाको शिवलिङ्ग प्राकृत हो भनिएको छ । शिवलिङ्गको इतिहासका बारेमा स्कन्द पुराण केदारखण्डको ३१औँ अध्यायमा १४ शिवलिङ्ग पुज्ने गरिएको र तीमध्ये नौ नम्बरमा स्वर्णलिङ्ग शब्द लेखिएको छ ।