बैशाख २५, २०८१, मंगलबार
               

चक्रपथ विस्तारका क्रममा स्वयम्भूको स्तूपा नहटाउने मन्त्रीको भनाइ

नेपाल फ्ल्यास
मंसिर २५, २०७७

ADVERTISEMENT

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले चक्रपथ विस्तारका क्रममा स्वयम्भूको स्तुपा नहटाउने बताएका छन् ।

‘स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔं’ अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले विश्वसम्पदा क्षेत्रभित्रका बुद्धको हजार मूर्ति स्तुपा नहटाउने बताएका हुन् ।

उनले सडक विस्तारका क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको भगवान् बुद्धको हजार मूर्ति स्तुपा जोगाउनुपर्छ भन्नेमा आफू रहेको पनि बताउनुभयो ।

‘हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तुपा जोगाउनुपर्छ भन्ने प्रस्ट भएको छ’, उनले भने– ‘प्राविधिकरुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाइनेछ ।’

सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र होइन, नयाँ चरणमा विकास गर्न लागिपरेको मन्त्री नेम्वाङले बताउनुभयो । मन्त्री नेम्वाङले स्वयम्भूजस्तो विश्वसम्पदा सूचीमा रहेका क्षेत्रहरुको संंरक्षण मात्र होइन अझ विकास गरेर लैजाने कुरामा सरकारको नीति कार्यक्रममा स्पष्ट रहेको बताए ।

उनले सडक विस्तार गरिँदा यसका प्राविधिक पक्ष, धार्मिक पक्ष, विश्वसम्पदा क्षेत्रका प्रावधान सबै विषयवस्तुलाई ध्यान दिएर काम अघि बढाउने पनि बताए ।

समुदायको भावना र संवदेनशीलतासँग जोडिएको विषय भएकाले अभियानले ध्यानाकर्षण गराउँदै पुरातत्व विभाग, महानगरपालिकासँग छलफल गर्नुका साथै आयोजना कार्यान्वयन गर्ने निकायलाई सचेत गराइसकेको समेत उनले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले स्वयम्भूजस्ता सम्पदाहरु सरकारले नै विश्वसम्पदा सूचीमा सूचीकृत गराएकाले त्यसको प्रावधान पालना गर्ने बताए ।

त्यस्तै अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताए । कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायत उपस्थित रहेको थियो ।

काठमाडौं चक्रपथ सुधार आयोजनाको दोस्रो खण्ड कलंकीदेखि धोबीखोला ११ दशमलव ६ किलोमिटर साइट क्लियरेन्सको काम अन्तिम चरणमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि