बैशाख १७, २०८१, सोमबार
               

नहाय–खाय विधिसँगै आजबाट छठ पर्व सुरु

नेपाल फ्ल्यास
मंसिर ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । आजबाट परम्परा अनुसार छठ पर्व सुरु भएको छ । दीपावली पर्व सकेर मैथिलले अब लोकआस्थाको पर्व छठ व्रत विधि सुरु गर्दैछन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भातृद्वितीया पनि भनिने भाइटीका) दीपावली (यमपञ्चक) सम्पन्न भएसँगै मैथिल (मिथिलाका बासिन्दा) आज बुधबारदेखि श्रद्धा र निष्ठापूर्वक मनाइने पर्व छठ व्रत सुरु गर्न लागेका हुन् ।

व्रत विधिअनुसार आज पहिलो दिन बर्तालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपालि आज (बुधबार) सुरु हुँदैछ ।

सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ ।

यद्यपि बर्तालुले यसअघि एक दिनपूर्व नै ‘अरवाअरवाइन’ विधिअनुसार चाखोनितोको ख्याल सुरु गरिसकेका छन् । त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन बर्तालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् ।

दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । पर्वको मुख्य दिन षष्ठी  तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अघ्र्य दिन्छन् ।

यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ ।

यद्यपि यसपालि कोभिड–१९ संक्रमण सन्त्रासले धेरैजसो बर्तालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी गरेका छन् । पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन सखारैदेखि पानीमा चोबलिएर सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्दै बर्तालुले गीत गाउँछन् ।

सूर्य क्षितिजमा देखिनासाथ अघिल्लो साँझ अघ्र्य देखाइएका सामग्री उदाउँदा सूर्यलाई देखाउँदै दोस्रो अघ्र्य दिएपछि पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । पर्व सम्पन्न भएसँगै बर्तालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् ।

यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम सुरु हुन्छ । मिथिलामा छठको प्रसाद इष्टमित्र, छोरीचेली र आफन्तकहाँ पुर्याउने क्रम १०–१५ दिनसम्म चलिरहन्छ ।मिथिलामा वर्षको दुईपटक छठपर्व मनाउने परम्परा छ ।

कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय र चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती छठ भनिन्छ । यद्यपि जनजनलाई परिचालित गर्ने भने शारदीय छठ नै हो ।

मिथिलाका सबै भेगमा अहिले बजारु चहलपहल निकै बढेको छ । पर्वमा गुवोसहित उखुको लाँक्रा, ज्यामिर, अदुवाको बोट व्रत विधिमा देखाइने हुँदा यस्ता कृषि उपजले राम्रो बजार पाएका छन् ।

त्यसैगरी यस पर्वका मिष्ठान्न परिकार ठकुवा, भुसुवासहितका सामग्री मिठ्ठा (सक्खर) मा बनाइने चलनले अहिले आम उखु किसान सक्खर बनाउन र बजार पुर्याउन व्यस्त देखिएका छन् ।

पर्वमा सूर्यदेव र षष्ठीदेवीलाई चढाइने मुख्य प्रसाद सामग्री ठकुवा (गहुँको पिठोबाट बनाइने मिष्ठान्न परिकार), भुसुवा (कसार) को पिठो घरमै ढिकी, जाँतो र ओखलमा अत्यन्त पवित्रताका साथ तयार गर्ने चलनले मिथिलाका सबै घरमा अहिले पर्वको चटारो देखिन्छ ।

पर्वमा प्रसाद सामग्री राख्न बाँसका चोयाले बनेका र माटाका शुद्ध नयाँ भाँडाको प्रयोग गरिने परम्पराले यस्ता सामग्रीको जताततै बजार जमेको देखिँदो छ । छठ पर्व (व्रत) गर्नाले मनोवाञ्छित फल पाइने, सन्तान सुख प्राप्त हुने र रोगव्याध नलाग्ने मैथिल जनविश्वास छ ।

खासमा चर्मरोग सूर्यको उपासनाले निको हुने विश्वास गरिन्छ । पछिल्ला केही दशकयता आपसी घुलमिलले छठपर्व पहाडी मूलका हिन्दू मात्र नभएर भाकलका रुपमा फरक धर्म संस्कृतिका जाति समुदायले पनि मनाउन थालेपछि यो पर्व मिथिलाको साझा पर्वको रुपमा विकास हुँदैछ ।

सबै जाति, धर्म, सम्प्रदाय र व्यक्ति–व्यक्ति परिचालित हुने हुँदा छठपर्व लोकआस्थाको पर्व बनेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा. राजेन्द्र विमलले बताए ।


कस्तो लाग्यो ?

यो पनि