बैशाख २२, २०८१, शनिबार
               

तिहारमा फूलको अभाव, ग्राहक रित्तै फर्किन बाध्य

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

रामपुर । यस वर्षको तिहारमा फूलको अभाव भएको छ । पुष्प व्यवसाय गर्ने कमै हुँदा पाल्पामा फुलको अभाव सिर्जना भएको हो । गत वर्षको तिहारमा सयपत्री फूलको राम्रो उत्पादन गरेका रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यो वर्ष फूलको माग बढी रहेकाले पुर्याउनै नसकिएको बताए । 

उनिहरूले पाल्पा सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा पर्ने रामपुर नगरपालिकामा पहिलो पटक पुष्प व्यवसाय सञ्चालन गरेका छन् । ‘फूलको व्यापार असाध्यै राम्रो भयो, तिहारका बेला धेरै ग्राहकलाई खाली हात फर्काउनु परेको छ, बाहिरी बजार तथा स्थानीयस्तरबाट फूलको माग ह्वात्तै बढ्दा पुर्याउन समस्या भयो’, दिलबहादुरले भने ।

गत वर्ष परीक्षणका रूपमा एक रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाइएको थियो भने उत्पादन राम्रो र माग बढेपछि यो वर्ष तिहार लक्षित दुई रोपनी जग्गामा सयपत्री फूल लगाइको लालबहादुरले बताए ।

तिहारको समयमा फूल बिक्रीबाट दुई लाख रुपैयाँ बराबरको कमाइ भएको छ । गतवर्ष यस व्यवसायबाट रु एक लाख आम्दानी भएको थियो । यस पटकको तिहारमा नेपालगञ्जमा ५० किलो फूल, बुटवल बजारमा ५० किलो फूल र दुई सय ५० वटा माला खपत भएको छ । दिलबहादुरका अनुसार विभिन्न जिल्लाबाट धेरै माग आए पनि पुर्याउन सकिएको छैन ।

थोकमा प्रतिमाला ८० रुपैयाँ, फुटकर १००, फूल थोकमा प्रतिकिलो मुल्य ३०० र फुटकर ४०० रुपैयाँमा बिक्री भएको छ । तिहारका लागि माला तथा फूल खरिद गर्न पुगेकी नारायणी अर्याल खाली हात फर्किइन् ।

‘फूल र माला किन्नका लागि आउँदा बोट नै रित्तिसकेछ, तिहारको अघिल्लो दिनमै फूल सकिँदा म जस्ता धेरै ग्राहक खाली हात फर्कन बाध्य भएका छन्’, उनले भनिन् । गतवर्ष तिहार लक्षित गरी परीक्षणका लागि लगाइएको फूलको सफल उत्पादनले पुनः दोस्रो पटक गत फागुन चैतमा उत्पादन हुने गरी लगाइयो ।

उत्पादनको समय बन्दाबन्दीले फूल बिक्री गर्न नपाई बोटमै ओइलाएर गयो । पुनः तिहार लक्षित गरी लगाइएको फूलले सोचेभन्दा राम्रो उत्पादन दिएको व्यवसायी बताउँछन् । बाहिरी बजार र स्थानीयवासीबाट फूलको माग बढ्न थालेपछि व्यवसायिकतालाई अगाडि बढाएको दिलबहादुर थापाको भनाइ छ ।

करिव १० वर्ष विदेश बसेर स्वदेश फर्किएका थापाले दुई वर्षयता जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । छोटो समयमा नै रामपुरमा कृषि व्यवसायमा नमूना व्यवसायीका रूपमा पहिचान बनाउन सफल भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि