कात्तिक ३०, २०८१, शुक्रबार
               

यस्तो छ गोवर्धन पूजाको विधि र महत्त्व

निरज कोइराला
कात्तिक ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । यमपञ्चकको चौथो दिन नेपालमा गोवर्धन पूजा गर्ने प्रचलन छ । यसै दिन गोरु पूजा पनि गरिन्छ । नेपालको केही ग्रामीण भेगमा अन्न लगायत कृषि क्षेत्रमा प्रयोग हुने हलोको पनि पूजा गर्ने चलन रहेको छ ।

गोवर्धन पूजा द्वापरयुगमा भगवान् श्रीकृष्णको अवतार भइसकेपछि सुरु भएको मान्यता रहिआएको छ । द्वापरयुगमा गोकुलवासीहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे । तर जति इन्द्रको पूजा गर्दा पनि समवृष्टि भएको थिएन । कृष्णले इन्द्रको पूजा गर्नुभन्दा बरु खनिज, घाँस, दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु उत्तम हुने कुरा बताएपछि गोकुलवासीहरूले गोवर्धन पूजा गर्छन् ।

वर्षौँदेखि आफ्नो पूजा गर्दै आएकोमा त्यस वर्ष आफ्नो बदलामा गोवर्धन पर्वतको पूजा गरेकोमा इन्द्र क्रोधित भएर गोकुलमा निरन्तर अतिवृष्टि गर्छन् । मूसलधारे वर्षाबाट बचाउन कृष्णले लीला देखाउँछन् । कृष्णले आफ्नो देब्रे हातको कान्छी औँलाले गोवर्धन पर्वतलाई नै उठाएर गोकुलवासीलाई आश्रय दिन्छन् । आफ्नो सुदर्शन चक्रको प्रभावले गोकुलवासीमा पानीको एक थोपा पनि पर्न नदिएको कथा आज पनि हामी पढ्न र सुन्न पाउँछौँ ।

ब्रह्माजीले इन्द्रलाई भने कि पृथ्वीलोकमा श्रीकृष्णले अवतार लिइसकेको छ । उनीसँग बैरभाव राख्न उचित नहुने कुरा सम्झाउँछन् । यो कुरा सुनेर इन्द्र आफ्नो कार्यप्रति लज्जित हुँदै हार मानी कृष्णसँग क्षमायाचना माग्छन् । कृष्णले गोवर्धन पर्वतलाई सात दिनपछि जमिनमा राख्छन्, र हरेक वर्ष गोवर्धन पर्वतको पूजा गर्ने आज्ञा दिन्छन् । त्यसै समयदेखि नै गोवर्धन पर्वतको पूजा प्रारम्भ भएको धार्मिक विश्वास रहेको छ  ।

यस दिन प्रातः समयमा नै उठेर धूप, चन्दनले पूजा गरेर फूलको माला लगाइदिनुपर्छ । घरमा भित्र्याएको नयाँ अन्नको परिकार बनाइ गोरुलाई खान दिनुपर्छ । त्यसपछि गोठमा गई गोबरद्वारा गोवर्धन पर्वतको निर्माण गर्ने चलन रहेको छ । उक्त निर्मित पर्वतमा चन्दन, फूल, अक्षतादि षोडशोपचारले क्रमैसँग पूजा गर्नु पर्दछ । नेपालको पश्चिमी भेगका कृषकहरूले आफ्नो खेतमा लगाएको बाली घरमा भित्र्याई त्यसको भोग दिने चलन पनि रहेको छ ।

आजका दिन नेपालको पश्चिमी जिल्ला प्युठानमा रहेको स्वर्गद्वारीमा अवस्थित गोवर्धन पर्वतमा निकै ठुलो मेला लाग्ने गर्दछ । त्यस मेलामा सामेल हुन नेपालबाहेक छिमेकी मुलुक भारतसमेतबाट भक्तजन तथा तीर्थालुहरू आउने गर्छन् ।

लेखक धर्म संस्कृति र पूर्वीय दर्शनमा रुचि राख्छन् ।

कस्तो लाग्यो ?

यो पनि