बैशाख १३, २०८१, बिहीबार
               

आज कोजाग्रत पूर्णिमा, बडादशैँ आजदेखि समापन हुँदै

नेपाल फ्ल्यास
कात्तिक १४, २०७७

ADVERTISEMENT

काठमाडौं । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधानसमेत मानिन्छ । टाढ-टाढाबाट आवतजावत गर्नुपर्नेहरूले आजैसम्म मान्यजनका हातबाट टीकाजमरा थाप्ने गर्छन् । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि सुरु गरिन्छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने शनिबार रहेको जनाइएको छ। महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५ः२५ बजेसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ । शनिबार पूर्णिमा तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७ः३३ बजेसम्म छ ।


कस्तो लाग्यो ?

यो पनि