बैशाख ११, २०८१, मंगलबार
               

विधिपूर्वक गरियो सिद्धिदात्रीको पूजाराधना

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७७

ADVERTISEMENT

नवरात्रको नवौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजाराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको विधिपूर्वक पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ । 

नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो । 

त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र  महागौरीको विशेष पूजाराधना गरियो ।   नवरात्रको अन्तिम दिन आज सिद्धिदात्रीको विधिपूर्वक विशेष पूजाराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म  देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष यही कात्तिक १० गते  विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान १०ः१९ को साइत उत्तम रहेको जनाएको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमासम्म लगाउन सकिने शास्त्रीय नियम छ ।

सिद्धिदात्रीको स्वरुप

मुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्रीको विधिपूर्वक पूजाराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

नवदुर्गाका नाम स्वयं ब्रह्माले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरण मात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुट्कारा पाउने विश्वास गरिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् । 

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दशैँतिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । दुर्गापक्षको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेका छन् ।

दशैँको नवौँ दिन आज शक्तिपीठमा पूजाराधना गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष तिनले कोरोनाको त्रासका कारण मानसिक रुपमा स्मरण गरेका छन् । महाष्टमीमा जस्तै आज महानवमीका दिन पनि शक्तिपीठ एवंं घरघरमा बलिसहित पूजाराधना गरी नेपालीले आजको दिनलाई विशेष रुपमा मनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि