बैशाख २३, २०८१, आइतबार
               

मलमासमा लाग्ने मच्छेनारायण मेला स्थगित

नेपाल फ्ल्यास
भदौ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छ ।

यस वर्ष असोज २ गतेदेखि असोज मसान्तसम्म मलमास परेको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मच्छेनारायण मेला स्थगन गरिएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ । एक महिनामा लाखौँ भक्तजनको भीड लाग्ने मेलाका कारण कोरोना फैलन सक्ने भयले मेला स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोनाका कारण यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो । रातो मच्छेन्दनाथको रथयात्रा ढिला गरी साङ्केतिक रूपमा गरिए पनि भोटो नदेखाई जात्रा समापन गर्ने तयारी सरोकार भएका निकायले गरेका छन ।

अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा करिब २० लाख भक्तजन मच्छेनारायणको पूजा आराधनाका लागि जाने गर्थे । मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवानलाई गरिने विशेष पूजा आराधना भने यथावत् रहेको नगरपालिकाले जनाएको छ ।

भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवानले पहिलो अवतार लिएको स्थान भए पनि यहाँको विकासमा सरकारले ध्यान नदिएको स्थानीयवासी राम श्रेष्ठले बताए ।


कस्तो लाग्यो ?

यो पनि