बैशाख १७, २०८१, सोमबार
               

बुवा : प्रेरणाको स्रोत

शोभा ढकाल
भदौ ०३, २०७७

ADVERTISEMENT

मलाई याद भए अनुसार, ताते-ताते गर्ने ती दिनमा बुवाले मलाई मुस्कुराउँदै स्नेहले हात समातेर हिडाउँनुहुन्थ्यो । लड्दा उठाउनुहुन्थ्यो र स्नेहले काँधमा बोकेर हिड्नुहुन्थ्यो । अहिले सम्झिदा ती दिन मेरा लागि प्रिय थिए ।

हुर्कँदै र बढ्दै जाने क्रममा बुवाको सानिध्यताबाट टाढा भए पनि मनमस्तिष्कमा गढेको स्मृतिको त्यो छाल भने जहिले पनि सतिसाल बनेर मेरो अगाडि उभिरहन्छ । बुवा मेरा लागि आदर्श, मार्गदर्शक, प्रेरणाको स्रोत र जीवनको हरयात्राको प्रेरक व्यक्तित्वका रुपमा मैले लिने गरेको छु । 

०००

आज कुशेऔँसी अर्थात् बुवालाई सम्मान प्रकट गर्ने दिन । कुशेऔँसी हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी) का दिन मनाउने प्रचलन छ । बुवाको सम्मानमा मुख हेर्दै मनाइने यस दिनलाई ‘बुवा दिवस’ पनि भनिन्छ । बुवा नहुनेले श्राद्ध, तर्पण, दान, पुण्य गर्दै सम्झने गरिन्छ ।

त्यसैगरी सनातन हिन्दू धर्ममा पुण्यकार्य, पूजाआजा गर्दा कुशको औँठी लगाइन्छ, जसलाई ‘पवित्र’ मानिन्छ । पवित्र धारण नगरी गरिएका कुनै पनि धार्मिककार्य पूर्ण हुँदैनन् भन्ने मान्यता रहिआएको छ । साथै घरमा कुश राख्दा पनि पवित्र हुने धार्मिक विश्वास छ । ‘कुश’ कुशेऔँसीकै दिन विधिपूर्व काटेर घर भित्र्याएपछि वर्षभरी प्रयोग गर्न सकिने धार्मिक मान्यता छ । देवकार्य र पितृकार्यमा कुश नभइ हुँदैन । यस्तै, कुश रोगकीरा भगाई वातावरण शुद्ध राख्नसमेत प्रयोग गरेको पाइन्छ । 

वैदिक मान्यता अनुसार पनि ‘पितृ देवो भवः’ भनी जन्म दिने पिताको सम्मान गरिन्छ । पिता दिवंगत भएका सन्तानले पितृमोक्षको कामना गरी पितृतर्पण दिइ श्राद्ध गर्दछन् । कुशेऔँसीका दिन काठमाडौंको गोर्कणस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृश्राद्ध गर्ने प्रचलन छ । यो दिन पितृका नाममा श्राद्ध गरी पिण्डदान गरे घोरनरकमा परेका पितृले समेत मोक्ष प्राप्त गर्छन् भन्ने मान्यता छ ।

०००

धर्म, संस्कृति, रीतिरिवाज लगायतका विविध गतिविधि दैनिक जीवनयापनका मूल आधार हुन् । धर्मले मानिसलाई अनुशासित बनाउन सिकाउँछ । यसले आत्मिक शान्तिका साथै मानिसलाई सभ्य र समृद्ध बनाउन अभिप्रेरित गर्दछ । हुनत मानवीय यावत् गतिविधिलाई संस्कृतिको रुपमा चिनिन्छ । यसले समाज सुन्दर र गतिशील बनाइरहेको हुन्छ । यही धर्म र संस्कृति नै हाम्रो बाँच्ने आधार बनेको छ । 

यस्तै, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको विशेष दिन कुशेऔँसी अर्थात् ‘बुवा दिवस’ हो । यस दिन आफ्ना सन्तानले बुबाको मुख हेर्ने, मिठो-चोखो भोजन गर्ने र आर्शिवाद लिने चलन छ । बुबाआमा भनेका जीवित देवीदेवता हुन् । त्यसैले आजकल आमा बाबुको मुख हेर्ने दिनले पनि चाडपर्वजस्तै विशेष महत्व पाउने गरेको छ ।

जन्म दिने बुवालाई हामी पिता, बुबा, बा, ड्याडी भनेर आफ्नो अनुकूलता अनुसार सम्बोधन गर्छौँ । हरेक मानिसको जीवनमा बुवा महत्वपूर्ण व्यक्ति हुन् । आफ्नो सन्तानको पालनपोषण, शिक्षादीक्षादेखि जीवनको दरिलो खम्बा र भरपर्दो सिँढीको रुपमा समेत बुवालाई लिइन्छ ।

जसले हामीलाई राम्रो र असल मान्छे बन्ने बाटो देखाउन हरपल ऊर्जा भरिरहन्छन् । प्रत्येक अप्ठ्याराहरुको समाधान र सफलताको साहराको रुपमा रहिरहन्छन् । मनको बह बिसाउने चौतारी र  अनगिन्ती चुनौतीका सहजकर्ता हुन् बुवा । उच्च मनोबल र प्रेरणा प्रदान गर्ने स्रोत हुन् । यति धेरै विशिष्ट गुण हुने व्यक्तिका लागि जति नै माया र सम्मान व्यक्त गरे पनि पुग्दैन । अझ भनौ बाबुआमाको सम्मानको शब्दकोषमा भएका कुनै शब्दले पनि पुग्दैन । 

बुवाको मुख हेर्ने दिन एउटा यस्तो अवसर हो जुन दिन आफ्ना बुवा समक्ष प्रतिज्ञा गर्ने क्षमा माग्ने र आर्शिवाद लिने दिन हो । मनुस्मृतिमा पिता अर्थात् बाबुको स्थान सयजना गुरुभन्दा पनि माथि हुने उल्लेख छ । यसैगरी उपनिषद्ले पितालाई देवताको कोटीमा राखेको छ ।

०००

पुँजीवादी व्यवस्थाले मानिसलाई हिजाेआज निकै व्यस्त र एकांकी बनाइरहेको छ । यसले परिवारबीचको समदुरीलाई बिस्तारै बिर्साउँदै लगिरहेको छ । साथै परिवारमा बिस्तारै झाँगिदै गएको एकांकीपनले आफ्ना बाबुआमासँगै बस्ने दुःख-सुखमा सहभागी हुने वातावरणसमेत हराउँदै जान थालेको छ ।

कतिपयले आफ्ना बाबुआमालाई वृद्धाश्रममा राख्नेजस्ता क्रियाकलाप गरेको पाइन्छ । अझ भनौं कतिपय विदेशिएका सन्तान नफर्किँदा यता घरमा बुवाआमा छोराछोरी घर आउने आशैआशमा दिन गुजारिरहेका हुन्छन् । यसले समाजको सामाजिक मान्यता, परिवार, देश र मानवीयलाई कमजोर बनाउँदै लगेको छ । धर्म र संस्कृतिका नाममा हुने विकृत पक्षलाई सुधार गर्दै बुवा दिवसलाई अझ सम्मानजनक रुपमा मनाउनु पर्दछ ।

०००


कस्तो लाग्यो ?

यो पनि