बैशाख १७, २०८१, सोमबार
               

वैदिक धर्मका पुनरोद्धारक आद्य शंकराचार्य
आज शंकराचार्य जयन्ती

विजयप्रसाद मिश्र
बैशाख १६, २०७७

ADVERTISEMENT

आठ वर्षको कलिलो बालकले प्रसन्न मुद्रामा धर्म–संस्कृति–समाजको हितमा सदाका लागि घर छोड्दै आमासँग विदा मागे । मुटुमा गाँठो पारी बलिन्द्रधारा आँसु खसाल्दै आमा रोइरहेकी थिइन् । बालक आमालाई भन्दै थिए– “आमा ! म जुन कार्यको लागि घर त्याग्दै छु त्यसबाट तपाईँलाई शान्ति र सन्तोष हुँदैन र ?”

“अवश्य हुन्छ छोरा ।” वात्सल्य भावले बालक छोरालाई सुम्सुम्याउँदै आमा पीडा लुकाउँदै आशीर्वाद दिन्छिन् । आमा आग्रहपूर्वक छोरालाई वाचाबन्धन गराउँदै भन्छिन्– “बाबु, एउटा कुरा नबिर्स है ! मेरो मृत्युपछि दाहसंस्कार तिम्रै हातले गर्नू नि !”

छोराले वचन दिँदै भने, “आमा ! म जहाँ भए पनि तपाईँको अन्तिम इच्छा अवश्य पूरा गर्नेछु । सारा संसारको सेवामध्ये तपाईँको सेवा पनि त पर्छ नि ।”

सोमवती अमावश्याका दिन अलवाई नदीमा स्नान गर्न आएका थिए आमा–छोरा । परिस्थितिको अनुमान आमालाई पटक्कै थिएन तर छोरालाई थियो । स्नेहपूर्ण विदा दिँदै आमा एक्लै घर फर्किइन् । छोरा साधना, ज्ञान–सञ्चय एवं धर्मोद्धारका निम्ति अर्कै बाटो हिँडे ।

जुन बालकको मनमा सनातन धर्म–संस्कृति, दर्शनप्रति किशोरावस्थादेखि नै यस्तो स्वाभिमान र त्याग भावना थियो त्यो अरु कोही नभई जगद्गुरु आद्य शंकराचार्य हुनुहुन्थ्यो । उहाँले तत्कालीन समयमा व्याप्त अनाचार तथा अन्धविश्वासबाट भारतवर्षलाई उद्धार मात्र गर्नुभएन, सम्पूर्ण सनातनधर्मीलाई एउटै सांस्कृतिक सूत्रमा उन्ने महत्वपूर्ण कार्य सम्पन्न गर्नुभयो । उहाँको त्याग र बलिदानबाट सम्पूर्ण सनातनधर्मी ऋणि छन् । अनि उहाँकी ती महान् आमाको उदात्त त्यागलाई आजपर्यन्त हामी नमन गर्छौँ । आफ्नो जीवनकालमा मातालाई दिएको वचन पूर्ण गर्न उहाँ आमाको अन्तिम समयमा गाउँ पुग्नुभएको थियो ।

शिवकृपाले जन्म

आद्य जगद्गुरु शंकराचार्यको जन्म सन् ७८८ अर्थात् झण्डै आजभन्दा १२३० वर्ष पहिले भारतको केरल राज्यको सानो गाउँ कलाडीमा भएको थियो । उहाँका पिता शिवगुरु पुरोहित हुनुहुन्थ्यो । आमा कामाक्षी पनि सरल र धर्मपरायण हुनुहुन्थ्यो । ईश्वर निष्ठामा शिवगुरु दृढ हुनुहुन्थ्यो । घरमा कुनै अभाव थिएन तर सन्तान नहुँदा सबै वैभव तुच्छ लाग्थ्यो । ४० वर्षको उमेरसम्म पनि कुनै सन्तान नहुँदा कामाक्षीदेवी दुःखी रहनु स्वभाविकै हो । शिवभक्त शिवगुरु दम्पती भगवान् शंकरमाथि अगाध आस्थाका साथ सन्तानको कामना गर्दै आराधनारत थिए । इच्छा पूर्ण भयो– शिवकृपाले शंकरको जन्म भयो ।

बाल्यावस्थामै श्रेष्ठ संस्कार दिन शिवगुरु दत्तचित्त हुनुहुन्थ्यो । बच्चामा धार्मिक संस्कार पुष्ट पार्दै ईश्वर उपासना, आत्म, धर्म, दर्शनको जानकारी उहाँले गराउँदै लानुभयो । सदाचार र सद्गुणहरूप्रति प्रेरित गर्न उपनिषद्, रामायण, महाभारतका कथा तथा महापुरुषहरूको जीवन–चरित्र सुनाउने गर्नुहुन्थ्यो । 

अध्ययन

“अष्टवर्षे चतुर्वेदी, द्वादशे सर्वशास्त्रविद । 
षोडशे कृतवान भाष्यं, द्वात्रिंशे मुनिरभ्यगात ।।”

आठ वर्षको हुँदा चारै वेदहरूको र बाह्र वर्षको हुँदा सबै शास्त्रहरूको ज्ञानलाभ गर्नुभयो । सोह्र वर्षमा भाष्यहरू रचना गरेका उहाँले ३२ वर्षको उमेरमा महाप्रयाण गर्नुभयो । यो भनाई आद्य शंकराचार्यबारे प्रचलित छ ।

शंकर सानै छँदा पिता शिवगुरुको देहावसान भयो । आमा कामाक्षी देवीमा उनको रेख–देकको जिम्मेवारी थियो । एकदिन शिवगुरुका मित्र विष्णु स्वमीको आग्रहमा बालक शंकरलाई अलवाई नदीको तटस्थित ब्रह्मस्वामीको गुरुकुलमा विद्याध्ययनका लागि पुर्‍याइयो । त्यहाँ परिश्रम एवं अनुशासनका साथ बालक शंकर अध्ययनरत हुनुभयो ।

पछि नर्मदा तटस्थित स्वामी गोविन्द भगवत्पादको आश्रममा गएर भगवान् भगवत्पादबाट दीक्षा लिएर शंकराचार्यले वेदशास्त्रको गहन अध्ययन गरी आफ्नो ज्ञान परिपक्व बनाउनुभयो । स्वामी गोविन्दले छात्र शंकरलाई लोककल्याणका लागि अद्वैतवादको गम्भीर अध्ययन गराउनुभयो । गुरुदेवको आज्ञा अनुसार वेदाङ्गका केही अंशको अध्ययन काशीमा गएर पूरा गर्नुभयो ।

कठीन साधना–तपद्वारा शंकराचार्यले आफूलाई ज्ञान–तपशक्तिद्वारा निष्णत बनाउनुभयो । यसैबाट उहाँलाई जगद्गुरुको गौरवशाली भूमिका प्राप्त भयो । उहाँको अद्वैत वेदान्तको प्रवचन सर्वप्रथम वाराणसीमा भयो । विशाल जनसमुदायलाई सम्बोधित गर्दै उहाँले भन्नुभयो– “वेदान्तले विशुद्ध रुपले मनुष्यको आत्माको आध्यात्मिक उत्थानको प्रशस्ति गर्दछ । आत्मकल्याण तथा विश्वको आध्यात्मिक पुनरुत्थानको लागि हामीले ती मानवीय गुणलाई अपनाउनुपर्छ जसमा कमिलादेखि हात्तीसम्मलाई आफ्नो अस्तित्वको सुरक्षाको अधिकार छ ।”

अनेक कष्ट सहन गर्दै वज्राङ्गी हनुमान झैँ हिमालका कन्दरादेखि दक्षिणमा समुद्रसम्म धर्मप्रचारार्थ परिभ्रमण गर्नुभयो । शंकराचार्य भन्नुहुन्छ– “यो शरीर आत्माको वाहन हो । पूर्ण आनन्द प्राप्त गर्नका लागि यो शरीरमा जीवात्माको अवतरण भएको हुन्छ । जो मनुष्य बुद्धि–विवेकद्वारा यो शरीरको शक्तिलाई उपयोग गर्दछन् तिनीहरू लौकिक धर्म–अर्थ तथा कामनाहरूको पूर्ति गर्दै मोक्ष पनि प्राप्त गर्दछन् । अर्थात् यो शरीर नै निवृत्तिको माध्यम पनि हो ।”

सरस्वती मन्दिरको उद्धार

परिव्राजक शंकराचार्य काश्मीर पुग्नुभयो । त्यहाँ अद्वितीय हस्तकलाको प्रतीक विशाल सरस्वती मन्दिर थियो, ज्ञानको प्रतीक त्यस मन्दिरलाई अज्ञानी तथा प्रमादि दुष्टहरूले बन्द गराएका थिए । शंकराचार्यले त्यहाँका जनतालाई एकत्रित गर्नुभयो र सम्झाउँदै भन्नुभयो– “सरस्वतीको यो दिव्य मन्दिर नै भगवान्को सर्वश्रेष्ठ निवास–स्थान हो । बन्द गराउनु धर्म विरुद्ध हो, आत्मघाती हुनु हो ।” जगद्गुरुको आह्वानमा हजारौँ मानिस सम्मिलित भए । मन्दिर खुल्यो, दैनिक दिव्य पूजा पुनः प्रारम्भ भयो । ज्ञानकी अधिष्ठात्रीको दिव्य मन्दिरलाई पुनः सुचारु गराएर शंकराचार्यले ज्ञानको महिमालाई प्रकाशमा ल्याउनुभयो । हुन पनि त्यो कालखण्डमा नास्तिकवादजनित अज्ञानका कारण सरस्वती अर्थात् ज्ञानको साधना लुप्तप्रायः भइसकेको थियो ।

चार पीठको स्थापना

समाजमा व्याप्त भ्रष्टाचारलाई निमूर्ल पार्न संगठित प्रयत्न एवं सामूहिक रचनात्मक कार्यहरूको आवश्यकता रहेको उहाँले अनुभव गर्नुभएको थियो । उहाँसँग शास्त्रार्थ गरेर पराजित भएका मण्डनमिश्र उहाँका सच्चा शिष्य एवं अनुयायी बनेका थिए, जसको नाम पछि सर्वेश्वराचार्य भयो । उनको सल्लाह अनुसार शंकराचार्यले वैदिक धर्मानुयायीहरूलाई एकसूत्रमा बाँध्न र आध्यात्मिक अनास्थाको उन्मूलनका लागि उत्तर–दक्षिण–पूर्व–पश्चिममा चार पीठ स्थापना गर्नुभयो । ती चार पीठमा चार शंकराचार्यको परम्परा पनि स्थापित गर्नुभयो । परम्परामा त्रुटी नहोस् भन्ने उद्देश्यले त्यसको व्यवस्थित निरन्तरताका लागि मठाम्नाय ग्रन्थ पनि लेख्नुभयो ।

त्यस्तै भगवान् पशुपतिनाथको पूजा–अर्चनालाई सुव्यवस्थित गर्न उहाँ नेपाल पनि आउनुभयो ।  प्रतिकूल परिस्थितिमा अनेक कष्ट सहन गर्दै सुप्तप्राय हिन्दू धर्मलाई नवजीवन प्रदान गर्नुभयो । युग निर्माता आद्यगुरु शंकराचार्यले सत्य, अहिंसा, उच्च विचार तथा मानवीय मूल्यलाई उच्चस्थानमा प्रतिष्ठित गर्नुभयो । उहाँलाई कोटि–कोटि नमन । 

भाष्य एवं स्तोत्रहरूको लेखन

स्थूल निर्माणहरूको अपेक्षा विचार निर्माणको महत्व असंख्य गुना श्रेष्ठ हुन्छ । शास्त्र त अनेक थिए । तिनको अध्ययन पनि गर्नु भएको थियो उहाँले । तर तिनलाई लोकोपयोगी बनाउनु अझ आवश्यक थियो । उहाँले ब्रह्मसूत्र, उपनिषद्हरू, गीता जस्ता ग्रन्थहरूलाई सरल भाषामा भाष्य गरी समाजलाई हस्तान्तरित गर्नुभयो ।  

जीवनको अन्तिम समयमा जगद्गुरु बद्रिकाश्रम जानुभयो । आफ्नो महाप्रयाणअघि आफ्ना शिष्यहरूलाई उपदेश दिँदै भन्नुभयो, “ मेरो प्रस्थान पछि तिमीहरूले वेदान्तमय जीवन यापन गरेर वेदान्तको महिमाको प्रचार गर्नु । ‘अहं ब्रह्मास्मि’ यस ज्ञानलाई अनुभव गर्नु अनि मात्र ठीक–ठीक धर्म प्रचार हुने छ । ठूलो पीठमा आसीन भएर कुनै व्यक्ति महान बन्दैन । आचरणले मात्र महानता प्राप्त हुन्छ ।” त्यसपछि उहाँले केही समय केदारनाथमा बिताउनुभयो र यहीँ ३२ वर्षको अल्पायुमा नै समाधि लगाएर नश्वर शरीर परित्याग गर्नुभयो । मानवता र मानव धर्म उहाँको अटूट तपको ऋणि रहिरहनेछ,  चिरकालसम्म ।

लेखक धर्म तथा संस्कृति क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि