बैशाख २४, २०८१, सोमबार
               

बुद्धवाणी : अहंकार त्याग्नुस्

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT

एक युवकले गौतम बुद्धलाई भने– 'भगवान्, मलाई तपाईंजस्तै महाज्ञानी बन्नु छ ।'
बुद्धले भने— 'बाबु, तिमी केही सिक्न चाहन्छौ भने १० दिनपछि आऊ ।'

ती युवक १० दिनपछि पुनः बुद्धसामु उपस्थित भए अनि आफूलाई शिष्य बनाउन अनुरोध गरे । बुद्धले यसपटक पनि पहिलेजस्तै जबाफ दिए र १० दिनपछि पुनः भेट्नू भने । यही क्रम महिनौँसम्म चलिरह्यो । आखिरमा हैरान भएर एक दिन युवकले बुद्धसामु प्रश्न गरे– भगवान्, आखिर हजुर मलाई किन यसरी झुलाउँदै हुनुहुन्छ ? मलाई आफ्नो शिष्य बनाएर ज्ञान दिन हजुरलाई केले रोकिरहेको छ ?
यसपटक बुद्धले भने– 'ठीक छ, भित्र गएर एक गिलास पानी ल्याऊ ।' बुद्धको आदेश पाउनासाथ ती युवक भित्र गए र एक गिलास पानी लिएर आए । फेरि बुद्धले भने– ' ठीक छ, अब अर्को एक गिलास पानी ल्याऊ ।' युवकले भित्रबाट अर्को गिलासमा पनि पानी ल्याए । बुद्धले आफ्नो हातको पानीको गिलास युवकलाई दिँदै भने– 'ल अब यो गिलासको पानी त्यो गिलासमा खन्याऊ ?' 

युवकले भने– 'भगवान्, मैले यस्तो गरेँ भने त पानीजति सबै पोखिइहाल्छ नि ? यो गिलास त पहिल्यै पानीले भरिएको छ ।'
बुद्धले हल्का मुस्कुराउँदै भने– 'हो, मैले भन्न खोजेको पनि यही हो । तिमी केही सिक्न तयार भएकै छैनौ । पहिल्यै तिमीभित्र असीमित पूर्वाग्रह र अहंकार भरिएको छ । तिनलाई त्याग नगरी तिमी ज्ञान सिक्न सक्दैनौ । जसरी एउटा भरी गिलासको पानी अर्को भरी गिलासमा खन्याउन एउटालाई खाली गर्नैपर्छ, ठीक त्यसरी नै नयाँ ज्ञान लिन पनि पहिल्यै दिमागमा भरिएका यस्ता पूर्वाग्रह र अहंकार खाली गर्नुपर्छ ।' 
युवकले बल्ल कुरा बुझे । अनि महाज्ञानी बन्‍ने आफ्नो अंहकार त्यागे । उनी अब सिक्नका लागि तयार भए ।  


कस्तो लाग्यो ?

यो पनि