नेपालको संस्कृति, रीतिरिवाज र समाजिक उत्तरदायित्वको सन्देश दिने उद्देश्यसहित काठमाडौंमा स्वामी विवेकानन्द संस्कृत ज्ञान परीक्षा आयोजना भएको छ ।
हिन्दु स्वयं सेवक संघ नेपालको आयोजनामा भएको उक्त परीक्षामा ५ सय विद्यालयका ८ हजार विद्यार्थी सहभागी भएका थिए ।
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाका संयोजक महाश्रम शर्माले हिन्दु दर्शन, मूल्य, संस्कृति, इतिहास, भूगोलसहित नेपालका विशेष पहिचान जनाउने प्रश्न र तिनको उत्तर संकलित ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ पुस्तकबाट प्रश्न सोधिएको र एक घण्टापछि नतिजा प्रकाशित गर्ने गरी परीक्षा आयोजना गरिएको बताए ।
उनले यो अभियान समाजलाई परिवर्तन गर्न, नैतिक मूल्य मान्यता र चरित्रलगायत विषयलाई विद्यार्थीहरुमा लागू गर्न परीक्षाले सहयोग गर्ने बताए ।
आठ हजार विद्यार्थीको उत्तरपुस्तिका परीक्षा सकिएको एक घण्टामै जाँच गरी नतिजा प्रकाशित गरिएको थियो । परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरु पुरस्कृत भएका छन् ।