बैशाख २८, २०८१, शुक्रबार
               

यस्तो छ पृथ्वी जयन्तीमा विदा दिने स्थानीय तहको शक्ति सन्तुलन
सरकारले कमल थापा उपप्रधानमन्त्री हुँदा एकपटक दिएको थियो विदा

नेपाल फ्ल्यास
पुस २५, २०७६

ADVERTISEMENT

काठमाडौँ । सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा नदिए पनि आधा दर्जनभन्दा बढी स्थानीय तहले सार्वजनिक बिदा दिने भएका छन् ।

उता, गत वर्ष पृथ्वी जयन्तीमा बिदा दिएको नेपालगन्ज उपमहानगरले भने यसबारे अझै निर्णय गरेको छैन । नेपालगन्जमा राप्रपा नेता धवलसम्मेर राणाले प्रमुख जितेका थिए । २३ वडा रहेको नेपालगन्जमा ३ वटा वडामात्र राप्रपाले जितेको थियो । कसैको बहुमत नभए पनि त्यहाँ नेकपा बलियो स्थितिमा छ ।

पुस २७ गते आइतबारका दिन सार्वजनिक बिदा दिनेमा धादिङको रुवी भ्याली गाउँपालिका हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको गाउँ रुवि भ्यालीले सो दिन सार्वजनिक बिदा दिने निर्णय दुई साताअघि नै गरेको हो । 

गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले सो दिनलाई सार्वजनिक बिदासहित विशेष कार्यक्रम गरी एकता दिवस मनाउने जानकारी दिए । 

'मुलुकमा अहिले राजनीतिक शक्तिहरुबीच दूरी बढेको छ । जातीय आधारमा पनि एकता र भाइचारा हट्दै गएको छ । धार्मिक हिंसाको खतरा देखिन थालेको छ' उनले भने- 'यो अवस्थामा राष्ट्रिय एकता दिवसको झन् अपरिहार्य र औचित्यपूर्ण देखिएको छ ।'

राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदाको माग गर्दै आएको छ । रुवी भ्याली राप्रपाको अध्यक्ष र उपाध्यक्षसहित बहुमत जितेको गाउँपालिका हो ।

यसैगरी गोरखाका चार वटा स्थानीय तहले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएका छन् ।

सदरमुकामसमेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले बिदा दिएका हुन् ।

तीमध्ये भीमसेन नगरपालिकामा प्रमुख र उपप्रमुखसहित नेपाली काँग्रेसको बहुमत छ । काँग्रेसको यस्तै बहुमतको अवस्था भीमसेन र सिरानचोक गाउँपालिकामा पनि छ । 

सार्वजनिक बिदा दिइएको पालुङटार नगरपालिकाको प्रमुखमा काँग्रेस विजयी भए पनि त्यहाँ उसको बहुमत छैन । हालका समाजवादी पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह जिल्लाको प्रभाव क्षेत्र रहेको यो नगरपालिकामा तत्कालीन नयाँ शक्ति पार्टी तीन वडा अध्यक्ष जितेर निर्णायक अवस्थामा आएको थियो ।

गोरखा पृथ्वी नारायण शाहको राज्य थियो । उनले त्यहीबाट एकीकरण अभियान चलाएर नेपाल राज्य बनाएका थिए । उनको योगदानको कदर गर्दै ती स्थानीय तहले बिदासहित विभिन्न कार्यक्रम पनि गर्दै छन् ।

ती कार्यक्रममा पृथ्वीनारायण शाहको योगदानबारे प्रवचन, र्‍याली, दीपावली तथा नगर सरसफाइसमेत छन् ।

पालुङटार नगरपालिकाले सांस्कृतिक कार्यक्रमसहित विद्यालयमा विभिन्न कार्यक्रम गर्ने भएको छ । भीमसेन थापा गाउँपालिकाले भने पुस २७ गते प्रभातफेरि गर्दै छ । 

पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहलाई जित्नै निक्कै धौधौ परेको नुवाकोटको सदरमुकाम रहेको विदुर नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । 

पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते विदुर नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेल जानकारी दिए ।

विदुर नगरपालिकामा तत्कालीन एमालेले प्रमुख र उपप्रमुखसहित बहुमत जितेको छ । 

यता झापाको कचनकवल गाउँपालिकाले पनि पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएको छ । कचनकवल गाउँपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकोमा राप्रपा सांसद राजेन्द्र लिङदेनले राष्ट्रनिर्माताप्रतिको सम्मान भनी बधाई तथा शुभकामना दिएका छन् ।

स्थानीय निर्वाचनमा ७ वटा वडा रहेको कचनकवलमा अध्यक्ष र उपाध्यक्षसहित राप्रपाले ३ वडा अध्यक्ष जितेको थियो ।

राप्रपा नेता लिङदेनको गृह जिल्लाको हल्दीबारी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । पाँच वडा भएको हल्दीबारीमा अध्यक्षसहित एक वडा अध्यक्ष जितेको राप्रपा अल्पमतमा छ । तर उसले आफ्नो पार्टीको नीतिबमोजिम विदा दिएको छ ।

झापाकै गौरिगन्ज गाउँपालिकामा राप्रपाले अध्यक्षमात्र जितेको थियो । राप्रपाको नेतृत्वमात्र रहेको सो गाउँपालिकाले पनि अहिलेसम्म बिदा दिएको छैन ।

विगतमा पुस २७ गते पृथ्वी जयन्तीलाई सरकारले राष्ट्रिय एकता दिवसको रूपमा सार्वजनिक बिदा दिने गरेको थियो । २०६२/६३ को जनआन्दोलनपछि बिदा सार्वजनिक बिदा कटौती गरिएको थियो ।

२०७५ सालमा भने तत्कालीन सरकारले पृथ्वी जयन्तीमा पटके निर्णय गरेर सार्वजनिक बिदा दिएको थियो । त्यो सरकारमा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री थिए ।

राप्रपा अध्यक्ष थापाले गोरखा, झापा, धादिङ र बाँकेका केही स्थानीय तहले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएकोमा खुसी व्यक्त गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि